सिभिलका ऋणीलाई ३५ दिने सूचना

सिभिलका ऋणीलाई ३५ दिने सूचना
सुन्नुहोस्

समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले सिभिल सेभिङ एण्ड क्रेडिट को–अपरेटिभ लिमिटेडका ऋणीहरुलाई ३५ दिनभित्र ऋण चुक्ता गर्न निर्देशन दिएको छ । 

आज सूचना जारी गर्दै समितिले तोकिएको समयमा ऋण तिर्न सहकारीलाई ऋणीलाई आग्रह गर्दै सिंहदरबारस्थित राष्ट्रिय वाणिज्य बैंक लिमिटेडको खाता नम्बर १९६०१००००००४९००१ मा रकम जम्मा गर्न भनेको छ । अन्यथा कालोसूचीमा राख्ने चेतावनी दिएको छ । 

‘बागमती प्रदेश सरकार संस्कृति, पर्यटन तथा सहकारी मन्त्रालयबाट प्रदेश सहकारी ऐन, २०७६ को दफा ८१ बमोजिम समस्याग्रस्त घोषित तपसिलमा उल्लेखित सहकारी संस्थाका ऋणीहरुले सो संस्थाबाट उपभोग गर्नुभएको ऋण कर्जा रकमको सावाँब्याज यो सूचना प्रकाशित गरिएको मितिले ३५ दिनभित्र आफूले उपभोग गरेको ऋण कर्जाको सावाँ तथा ब्याज तपसिलमा उल्लेखित बैंक खातामा जम्मा गरी सोको भौचर यस समितिको कार्यालयमा पेश गरी कर्जा राफसाफ गर्नुहुन सूचित गरिन्छ’, सूचनामा उल्लेख छ । 

त्यस्तै, तोकिएको समयभित्र ऋण चुक्ता नगर्नेलाई प्रदेश सहकारी ऐन, २०७६ को दफा ९२ को उपदफा (१) खण्ड (क),(ख) र (ग) बमोजिम आर्थिक कारोबार, खाता वा चलअचल सम्पत्ति रोक्का राख्ने, राहदानी रोक्का गर्ने र कालोसूचीमा पठाउने चेतावनी दिइएको छ । प्रदेशको सहकारी मन्त्रालयले गत भदौ २१ गते उक्त सहकारीलाई समस्याग्रस्त घोषणा गरेको हो । 

सहकारीमा भएको बचतकर्ताको अर्बौं रुपैयाँ हिनामिना गरेको आरोपमा तत्कालीन अध्यक्ष इच्छाराज तामाङ्ग र उनकी श्रीमती सिर्जना शाक्य तामाङ्ग जेल चलान भएका छन् ।

 

टिप्पणीहरू