दशैंमा नयाँ नोट नसाट्ने राष्ट्र बैंकको तयारी

दशैंमा नयाँ नोट नसाट्ने राष्ट्र बैंकको तयारी
सुन्नुहोस्

नेपाल राष्ट्र बैंकले आगामी दशैंमा नयाँ नोट सटही नगर्ने भएको छ । बैंकका सूचना अधिकारी डा.डिल्लीराम पोखरेलका अनुसार यो वर्ष सुकिला नोट बाँडिनेछ । नयाँ नोट छपाईमा लाग्ने खर्च बचाउन सुकिला नोट मात्रै बाँड्न लागिएको उनले बताए । 

‘गत वर्ष निकालेको नोट नयाँजस्तै हुन्छ । यो वर्ष सोही नोट बाँडिनेछ । नयाँ नोट निकाल्दाको लागत, यातायात खर्च, व्यवस्थापनलगायतमा धेरै खर्च लाग्ने भएकोले यो वर्ष बैंकले सुकिला नोट बाँड्न लागेको हो’,उनले भने । 

चाडपर्वमा नोट फोहोर हुने र त्यसको आयुसमेत घट्ने उनको भनाई छ । भन्छन्, ‘दशैं तिहारमा नोटमा अबिर लाग्छ । फोहोर हुन्छ, बिग्रिन्छ । नोटको आयु पनि घट्छ । नयाँ नोट निकाल्न लागेको खर्च खेर जान्छ । त्यसैले सुकिला नोट नै प्रयोग गर्नु ठीक हुन्छ भनेर यस वर्षदेखि यो अभ्यास थाल्न लागेका हौं ।’

राष्ट्र बैंकले दशैंको उपलक्ष्यमा नयाँ नोट सटही गर्दै आएको छ । विगतमा प्रतिव्यक्ति १८ हजार पाँच सय रुपैयाँ नयाँ नोट सटहीको सुविधा दिने गरिएको थियो ।

टिप्पणीहरू