प्रधानमन्त्रीलाई प्रचण्डको सन्देश : जे गर्न मन लाग्छ, गरे हुन्छ !

प्रधानमन्त्रीलाई प्रचण्डको सन्देश : जे गर्न मन लाग्छ, गरे हुन्छ !

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सहकारी ठगी प्रकरणमा रास्वपा सभापति रवि लामिछानेलाई ‘क्लिन चिट’ दिलाउन कुनै पहल नगरेको स्पष्ट पार्नुभएको छ । पछिल्लो समय लामिछानेलाई ‘क्लिन चिट’ दिलाउन प्रचण्डको प्रयास भन्ने जस्ता गलत भाष्य स्थापित गर्न खोजिएकोमा उहाँले स्पष्ट पार्नुभएको बताइन्छ ।

आज गृहजिल्ला चितवन पुग्नुभएका उहाँले प्रधानमन्त्री हुँदा लामिछानेविरुद्ध कुनै प्रमाण नपाएको अवगत गराउनुभयो । ‘मैले रवि लामिछानेलाई गलत ढंगबाट क्लिन चिट दिने काम गरेको छैन । यो कन्फ्युजन हो, भ्रम हो’, उहाँले भन्नुभयो, ‘म प्रधानमन्त्री हुँदा साँच्चै सोधखोज गरेको थिएँ, तीन वटै सुरक्षा निकायसँग उनीबारे केही कैफियत छ भने भन्नुस् है भनेर आग्रह गरेको थिएँ । सबैले छैन भन्नुभयो, छैन भनेकोलाई मैले छ भन्न त मिलेन ।’

सरकारले सहकारी ठगी प्रकरणमा लामिछानेमाथि पूर्वाग्राह राखेको उहाँको भनाई छ । यद्यपि, आफूले चाहँदैमा लामिछानेमाथिको कारबाही नरोकिने बताउदै, ‘संसदीय समितिले सहकारी ठगीमा रवि लामिछानेलाई प्रत्यक्ष दोषी किटान गरेको चाहीँ होइन, गोर्खा मिडिया नेटवर्कसँगको सम्बन्धमा केही चिज छ । तर यो कुरा मैले रोकेर रोकिने पनि हैन । मैले रोकेको पनि छैन ।’

प्रधानमन्त्री केपी शर्मा ओलीले दोहोरो चरित्र देखाइरहेको प्रचण्डको जिकिर छ । आफू प्रधानमन्त्री हुँदाको क्षण स्मरण गर्दै, ‘म प्रधानमन्त्री हुँदा समिति बन्यो । बनाउनुपर्छ भन्ने म पनि एउटा हुँ, रविजी पनि एउटा हुनुहुन्छ । यसमा चाहीँ क्लियर हुनुपर्छ । बरु त्यतिबेला यो समिति बनाउनु हुँदैन भन्ने त केपी ओली जी हो । अहिले आफैँ प्रधानमन्त्री हुनुहुन्छ । उहाँले नै यो समिति बनाउनु हुँदैन भनेर भन्दै हिँड्नुभाथ्यो । उहाँले गर्न चाहने कारबाहीमा कसैले रोक्दैन । जे गर्न मन लाग्छ, गरे हुन्छ नि ।’

टिप्पणीहरू