सरकारलाई काँग्रेस र एमालेको एक करोड, माओवादीको ज्ञापन

सरकारलाई काँग्रेस र एमालेको एक करोड, माओवादीको ज्ञापन

तीन ठूला दल नेपाली काँग्रेस, नेकपा (एमाले) र माओवादी केन्द्रले बाढी पहिरो पीडितहरुलाई तत्काल राहत उपलब्ध गराउन सरकारको ध्यानाकर्षण गराएका छन् । पार्टी शीर्ष नेताहरुले आज प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटेर ध्यानकर्षण गराएका हुन् । 

काँग्रेस सभापति शेरबहादुर देउवाले विपद्को पूर्वतयारीमा सरकार चुकेको भन्दै प्रधानमन्त्री ओलीलाई ३४ बुँदे सुझाव पत्र हस्तान्तरण गर्नुभयो । साथै, बाढी पहिरो प्रभावितहरुको जनजीवनलाई सहज बनाउन नेपाली काँग्रेस सँधै सहकार्य गर्न तयार रहेको देउवाको भनाइ छ । 

सभापति देउवाले उद्धार तथा राहत कोषको लागि नेपाली काँग्रेसको तर्फबाट ५० लाखको चेक हस्तान्तरणसमेत गर्नुभयो । भेटमा देउवासहित गृहमन्त्री रमेश लेखक,पार्टी उपसभापति पूर्णबहादुर खड्का, महामन्त्री विश्वप्रकाश शर्मा पनि उपस्थित थिए । 

नेकपा (एमाले)ले पनि पीडितहरुको उद्धार र राहतमा सक्रिय भएर लाग्न सरकारलाई आग्रह गरेको छ । वरिष्ठ उपाध्यक्ष इश्वर पोखरेलले पार्टी अध्यक्ष तथा प्रधानमन्त्री ओलीलाई भेटेर उक्त आग्रह गर्नुभएको हो । उहाँले राहत कोषका लागि एमालेको तर्फबाट ५० लाखको चेक हस्तान्तरण गर्नुभयो । 

भेटमा उपाध्यक्ष पोखरेलसहित महासचिव शंकर पोखरेल, उपमहासचिवहरु प्रदीप ज्ञवाली, विष्णु रिमाल, पृथ्वीसुब्बा गुरुङलगायतको उपस्थिति थियो । 

त्यस्तै माओवादी केन्द्रले पनि विपद् न्यूनीकरण र जोखिम व्यवस्थापनको सम्बन्धमा सरकारको ध्यानाकर्षण गराएको छ । वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठले राजनीतिभन्दा नागरिकको जनजीवन महत्वपूर्ण भएको जनाउँदै प्रधानमन्त्रीलाई २० बुँदे ज्ञापन पत्र बुझाउनु भएको छ । 

बाढी पहिरोमा घाइतेलाई निशुल्क उपचार व्यवस्था गर्न, पीडितहरुलाई दशैँ अघि नै राहत उपलब्ध गराउन, राष्ट्रिय विपद्को पूर्वतयारीको व्यवस्थापनमा सुधार ल्याउन, अवरुद्ध राजमार्गहरुलाई चाँडै पुनस्थापना गर्नुपर्ने उनीहरुको माग छ । 

भेटमा श्रेष्ठसहित उपाध्यक्ष अग्निप्रसाद सापकोटा, महासचिव देवप्रसाद गुरुङ, उपमहासचिवहरू वर्षामान पुन, जनार्दन शर्मा, पम्फा भुसालको उपस्थिति थियो ।

टिप्पणीहरू