पोखराको प्याराग्लाइडिङमा फेरि सिण्डिकेट !
३ हजारको उडान ९ हजार पुर्याइयो
– यदुनाथ बञ्जारा
जहाँ खुला प्रतिस्पर्धा त्यहाँ सुपथ मूल्य, जहाँ एकाधिकार त्यहा महँगीको मार भन्ने विश्वव्यापी मान्यता छ । खुला बजार अर्थनीतिले प्रतिस्पर्धात्मक प्रणालीलाई स्वीकार गरेको छ किनकि उपभोक्ता हितको लागि यो नीति उत्कृष्ट मानिन्छ । कार्टेलिङ अर्थात एकाधिकारले ब्यापारीलाई मनग्य फाइदा त देला तर उपभोक्ताको ढाड राम्रैसँग सेकाइएको हुन्छ एकाधिकार भएको ठाउँमा उपभोक्ताले छानेर, रोजेर सेवा लिन पाउँदैनन् । त्यहाँ ‘खाए खा नखाए घीच’ भनेझैँ ट्र्यापमा पारेर सेवा बेचिन्छ ।
नेपाल हवाई खेलकुद संस्था (ना) ले पोखराको प्याराग्लाइडिङमा फेरि कार्टेलिङ लाद्ने निर्णय गरेको छ । उडान रेट तोक्ने नाममा झण्डै ३ सय प्रतिशत मूल्य बढाइएको छ । यसअघि प्रति उडान ३ हजार लिने रेट प्रतिस्पर्धामा आधारित थियो । प्याराग्लाइडिङ कम्पनी दुई समूहमा विभाजित थिए, त्यसको प्रत्यक्ष फाइदा सेवाग्राहीले पाएका थिए । केही महिना त्यस्तो खुला प्रतिस्पर्धा चलेको पनि हो ।
पोखरामा नयाँ क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल बनेपछि सराङ्कोटको टेक अफ हटाई तोरिपानी र मान्द्रेढुंगामा सारियो । टेक अफ र ल्याण्डिङ एरिया लिने विषयमा दुई समूहबीच शक्ति संघर्ष चलेपछि व्यवसायीले प्रतिस्पर्धात्मक खुला रूपमा उडान शुल्क तोकेका थिए । ३ हजारमा एक उडान गर्न पाउँथे । यसले गर्दा करिब ८ महिना शुल्कमा भारी गिरावट आयो पनि । त्यसरी शुल्कमा एकरूपता नहुँदा पर्यटक आकर्षित गर्ने नाममा अस्वस्थ प्रतिस्पर्धा भएको भन्दै हवाई खेलकुद संस्था नाले चासो देखाएको बुझिएको छ ।
हाल आएर प्याराग्लाइडिङ पाइलट्स क्लब र नेपाल हवाई खेलकुद संस्थाको पाराग्लाइडिङ व्यवसायी उपसमितिको बैठकले प्याराग्लाइडिङ उडानका लागि समयका आधारमा फरक–फरक शुल्क तोकेको छ । न्यूनतम १५ देखि ३० मिनेटसम्म संस्थागत शुल्क ७ हजार ५ सय र अधिकतम बजार शुल्क ८ हजार ५ सय रूपैयाँ तय गरिएको छ । ३० मिनेटदेखि १ घण्टासम्म कम्पनी शुल्क ११ हजार २ सय ५० र अधिकतम शुल्क १२ हजार ७ सय ५० रूपैयाँ तय भएको छ । अघिल्लो उडान रेटको तुलनामा यो झण्डै ४ सय प्रतिशत महँगो रहेको तथ्यांकले पुष्टि गरेको छ ।
ना र पाइलटहरूको संयुक्त निर्णयमा कार्टेलिङ गरी शुल्क बढाइएको हो । यसरी शुल्क बढाएसँगै प्यारापाइलटको पारिश्रमिक र व्यवसायीको आम्दानीको भागबण्डा पनि बढेको छ । बैठकको निर्णयअनुसार अब पाइलटले प्रतिउडान ६० प्रतिशत र व्यवसायीले ४० प्रतिशत लिने सहमति भएको एक सदस्यले बताए ।
पुसमा विभाजित १३ व्यवसायी र ४४ व्यवसायीबीच क्लाइन्टको एकीकृत बुकिङ गर्ने र दामासाहीले बाँड्ने विषयमा असहमति भएपछि संस्थापन पक्ष अर्थात् ना ले बुकिङ खुला भएको सूचना दिएको थियो । त्यसलगत्तै उडान शुल्क आफूखुशी तोक्दा प्रति उडान ३ हजारसम्म झरेको थियो । यो प्रतिस्पर्धा झण्डै ८ महिना चल्यो । क्लाइन्ट बुकिङ गर्ने रेपुटेड व्यावसायिक संस्थाले ५ हजारसम्म क्लाइन्ट बुक गर्ने गरेका थिए ।
पछिल्लो समयमा आएर व्यवसायी र पाइलटले कार्टेलिङ गरेर ह्वात्तै ३ सय प्रतिशतसम्म रेट बढाएका छन् । जति लिए पनि हुने हो कि व्यावहारिक लागत मूल्य लिने हो ? त्यसको खास लागत मूल्य नागरिक उड्डयन प्राधिकरण र स्थानीय प्रशासनले तोक्न जरुरी देखिन्छ । पर्यटन क्षेत्रमा मूल्यको भारी उतारचढावले आन्तरिक तथा बाह्य पर्यटन बजारमा नकारात्मक सन्देश जान सक्नेतर्फ व्यवसायी र राज्यका नियामक निकायले ध्यान दिन जरुरी देखिन्छ नत्र त्यही सेवा कहिले ३ हजार कहिले १२ हजार कसरी हुन्छ भन्ने प्रश्नले विग्रह ल्याउन सक्छ ।
टिप्पणीहरू