भ्रष्टाचार र सम्पत्ति शुद्धीकरणमा नागार्जुनका मेयरसँगै तानिए कँडेल
काठमाडौंको नागार्जुन नगरपालिकाका मेयर मोहनबहादुर बस्नेत भ्रष्टाचारमा तानिएका छन् । गैरकानूनी रुपमा अकुत सम्पत्ति आयआर्जन गरेको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आज विशेष अदालत काठमाडौंमा उनीविरुद्ध मुद्दा दायर गरेको छ ।
मेयर बस्नेतले पद्मा मर्चेन्ट कम्पनी र सोका सञ्चालक एवम् अध्यक्ष राजुप्रसाद कँडेलबाट अवैध रुपमा रकम प्राप्त गरी कम मूल्यमा जग्गा बेचबिखन गरेको अख्तियारको आरोप छ । अख्तियारका अनुसार उनले आफ्नो पदको दुरुपयोग गरेर नगरकै घरजग्गा व्यवसायी कँडेलको हितमा काम गरेर लाभ लिएको पाइएको हो ।
कँडेल सञ्चालक रहेको जगतगुरु कृपालु प्रतिष्ठानलाई नगरपालिकाबाट विभिन्न शीषर्कमा कर छुट दिलाउनुका साथै व्यक्ति तथा संघसंस्थाबाट झण्डै साढे सात अर्ब विदेशी सहायता प्राप्त गर्न मेयर बस्नेतले अनुमति दिएको अख्तियारको अनुसन्धानमा खुलेको छ ।
यस्तै, नगरपालिकाभित्र मन्दिर निर्माण गर्न ४७ करोड ७५ लाख रुपैयाँ मूल्यको जग्गा उनले पद्मा कोलोनीलाई १८ करोड ९४ लाख रुपैयाँमै उपलब्ध गराएका थिए । त्यसबापत घुसस्वरुप बस्नेत र श्रीमती उर्मिलाको बैंक खातामा नौ करोड २२ लाख ४६ हजार ३२ रुपैयाँ जम्मा गरिएको पनि आयोगले फेला पारेको छ ।
त्यसरी गैरकानूनी रुपमा प्राप्त रकम लुकाएको, अन्यत्र लगानी गरेको र हस्तान्तरण समेत भएको भन्दै अख्तियारले मेयर बस्नेतमाथि १३ करोड १२ लाख ७३ हजार ३२ रुपैयाँ बिगो मागदाबीसहित सम्पत्ति शुद्धीकरण मुद्दा पनि दायर गरेको छ । यस्तै, पत्नी उर्मिला र कँडेलविरुद्ध नौ करोड २२ लाख ४६ हजार ३२ रुपैयाँ बिगो मागदाबीसहित मुद्दा दर्ता गरिएको अख्तियारले जनाएको छ ।
टिप्पणीहरू