सभापति र सांसद ट्वाइलेट गएपछि संसदीय समितिको बैठक अवरुद्ध

सभापति र सांसद ट्वाइलेट गएपछि संसदीय समितिको बैठक अवरुद्ध
सुन्नुहोस्

सभापति र सांसद सँगसँगै शौचालय गएपछि शिक्षा समितिको बैठक अवरुद्ध भएको छ । ‘शहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय विधेयक, २०८०’ माथि छलफल गर्न सिंहदरबारमा आज बसेको बैठक पाँच मीनेट अवरुद्ध भएको हो । 

उक्त विधेयक संशोधनका निम्ति पाँच जना सांसदले प्रस्ताव राखेपछि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सांसद तोसिमा कार्कीको बोल्ने पालो आयो । उनले सम्बोधन गरेर विषयमा प्रवेश गर्नै लाग्दा समितिका सभापति अम्मरबहादुर थापा जुरुक्क उठे । 

तोसिमाले सोधिन्,‘कहाँ जान लाग्नुभएको हो सभापतिज्यू, मैले तपाईंलाई सुनाउनैपर्ने कुरा थियो ।’ सभापति थापाले उनको प्रश्नको जवाफ दिँदै भने,‘मान्यज्यू शौचालय गएर आउँछु, एकछिन तपाईं बोल्दै गर्नुस् ।’

त्यसपछि तोसिमाले भनिन्,‘नाइँ हुन्न उसो भए म पनि शौचालय जान्छु ।’ उनी सभापतिको पछिपछि गइन् । सभापति थापा र तोसिमा सँगसँगै शौचालय गएपछि करिब पाँच मीनेटका लागि बैठक अवरुद्ध हुन पुगेको हो । 

त्यसबेलासम्म बैठकमा उपस्थित शिक्षामन्त्री, सचिव र अन्य सांसद अनौपचारिक गफमा भुलिए । शौचालयबाट सँगै फर्किएका सभापति थापा र तोसिमा एकअर्काको मुख हेर्दै हाँसे । 

यता, अर्का माननीय चन्द्र भण्डारीले ‘यो कुराको समाचार नबनाउनु है’ भन्दै रिपोर्टिङमा रहेका पत्रकारहरुलाई हसाँए ।

 

टिप्पणीहरू