सैन्य अखाडामा बाहिरी भेला शुरु
भद्रकालीस्थित जंगी अड्डा परिसरको पार्टी प्यालेस बाह्य व्यक्ति तथा संस्थालाई बन्द गरिएको चार वर्षपछि खोल्दै लान लागिएको छ । तत्कालीन सेनापति पूर्णचन्द्र शर्माको पालादेखि बन्द सैनिक मुख्यालय परिसरको भतेर थलो ठूलाबडा र पहुँचवालाहरूको निम्ति खुल्ने गरेको पाइएको छ ।
ठेक्का पट्टा र निर्माण कार्य जस्तै सेनाले पार्टी प्यालेस सञ्चालन गर्न नहुने भन्दै आलोचना हुन थालेपछि थापाको पालामा बन्द गरिएको थियोे । जंगी अड्डाभित्र पार्टी प्यालेससँगै सभा मण्डप पनि छ । पाँच सयबढी दर्शक क्षमताको उक्त हल व्यापारिक र व्यवसायिक संस्थालाई साधारणसभा गर्न खुला गर्दा सहभागीलाई भातभान्छा कता गराउने भन्ने समस्या समाधानका नाममा क्रमशः पुरानो अवरोध फुकाउँदै लगिएको बुझिएको छ । जबकि त्यहाँको पार्टी प्यालेस सेनाका हिताधिकारी बाहेक अरुले प्रयोग गर्न नपाउने भनिएको छ । सेनाका निवृत्तिभरण (पेन्सन) खाने र बालबच्चाको खुशियालीमा मात्रै पार्टी गर्न पाउने भनिए पनि रक्षा मन्त्रालय र हेडक्वार्टरको आदेशमा मण्डप र पार्टी प्यालेस सञ्चालनमा आउने गरेको छ ।
सेनाले सभा मण्डपमा एक दिनको सवा लाख लिएर बैंक तथा वित्तीय संस्थाहरूलाई वार्षिक साधारण सभा (एजिएम) गर्न स्वीकृति दिँदै आएको छ । ती संस्थाको वित्तीय अवस्था, सुशासन कमजोर हुँदै गएको सन्दर्भमा सेयरहोल्डरबीच झैझगडा हुने जमाना हो यो । त्यही ठाउँ लिएपछि सहभागीहरूलाई खाना, खाजा तथा स्न्याक्स खुवाउने नाममा बन्द गरिएको पार्टी प्यालेसतिर आउन अनुमति दिन थालिएको स्रोतले बतायो । ‘एक हिसाबले खुल्यो भन्दा पनि हुन्छ । पहिले बाहिरकालाई बन्द गरियो भनिएकोमा अहिले अर्को हिसाबले खुलाइएको अवस्था छ,’ हेडक्वार्टर स्रोतले बतायो ।
सेनाले दोहोरो भूमिका निर्वाह गर्दै एकाध बैंक तथा वित्तीय संस्थालाई साधारण सभा गर्न दिएको सन्दर्भ पनि आलोचित छ । कतिपय अवस्थामा त्यस्तोमा भैmझगडा, मारमुंग्री भएमा के त्यहाँ प्रहरी छिराउने ? सैनिक टोलीले पहरा दिएर बैंकको एजिएम गर्न दिने ! स्रोत भन्छ, ‘भित्र भाषण गर्छन् । अनि त्यही नाममा खानाको लागि बन्द भनिएको पार्टी प्यालेस खोलिन्छ ।’ स्टाण्डर्ड चार्टर्ड बैंक, नेपाल एसबीआई बैंक, सिद्धार्थ बैंकको साधारण सभा केही दिनअगाडि सोही स्थानमा सम्पन्न भैसकेको छ । उता, पश्चिम गेट बन्द गरेपछि कार्की रेष्टुरेण्टमा आउने पाहुनाहरूलाई जंगी अड्डाको मेन गेटमै पुगेर दाहिने मोड्ने बाध्यता छ । यो कुराले सुरक्षा संवेदनशीलतालाई संवोधन गर्छ कि गर्दैन ?
यता, जंगी अड्डा दक्षिणतर्फबाट भित्रबाहिर गर्ने बाटो पनि कार्यालय समयपछि बन्द हुन थालेको छ । खेलकुद परिषदतर्फ निस्कने बाटो साँझ बन्द गरिदिँदा ड्युटीमा रहेका कर्मचारी तथा तिनका पाहुनालाई चिया नास्ताको लागि रंगशाला नजिकैको रेष्टुरेण्टमा लैजान नमिल्ने अवस्था उत्पन्न भएको छ । महानगरपालिकाले बनाएको उक्त बाटो विशेषगरी खेलकुद प्रतियोगिता हुँदा पार्किङका लागि बनाइएको सेनाको दाबी छ । साँझ ५ बजेपछि बन्द हुने उक्त बाटोमा खेलकुदले आफ्नो सुरक्षाकर्मी खटाउने गरेको छ । आठ महिनादेखि परिषदले साँझ ढोका बन्द गरिदिँदा जंगी अड्डाबाट दक्षिणतर्फ चिया, नास्ताको लागि आउजाउ गर्ने बाटो बन्द भएको छ । बन्द भएको बाटो नेतृत्वले खुलाउन सकेको छैन ।
टिप्पणीहरू