सबै श्रेणीहरू

फिल्म पछाडि धकेलिएपछि महानायकबारे बेग्लै चर्चा

फिल्म पछाडि धकेलिएपछि महानायकबारे बेग्लै चर्चा

करिब आठ वर्षपछि ठूलो पर्दामा देखिन लागेका महानायक राजेश हमालको कमब्याक चलचित्र ‘नरसिंह अवतार’को प्रदर्शन मिति सरेको छ । चैत २९ गतेदेखि प्रदर्शनमा आउने प्रचार गरिएकोमा उक्त दिन अरु दुई चलचित्रसँग जुध्ने भएपछि निर्माण टिमले पछाडि सारेको छ । हाल प्रदर्शनको नयाँ मिति नतोकिए पनि आगामी वर्षको जेठसम्म पुग्ने बुझिएको छ । 

स्रोतका अनुसार महानायक हमालसमेतको सल्लाहमा निर्माताले नयाँ प्रदर्शन मिति तय गर्ने छन् । नेपाली चलचित्र क्षेत्र सीमित रहेको र त्यसमा पनि राम्रा फिल्म जुधाउँदा चलचित्रकर्मीलाई नै नोक्सानी पुग्ने हमालको धारणा छ । 

निर्माण टिमका एक सदस्य भन्छन्, ‘निर्माता र निर्देशकज्यू अरु चलचित्रसँग जुधे पनि पूर्व निर्धारित मितिमै प्रदर्शन गर्ने मनस्थितिमा हुनुहुन्थ्यो, तर राजेश दाइले मान्नु भएन ।’ 

बताइएअनुसार अहिले धमाधम चलचित्रको पोस्ट प्रोडक्सनको काम भइरहेको छ । चलचित्रमा हमालसहित सरोज खनाल, नीति शाह, उषा खड्की, सनिषा भट्टराईलगायतको अभिनय छ । 

यसैबीच महानायक हमाल राजनीतिमा प्रवेश गर्न लागेको चर्चाले सिनेवृत्त गर्माएको छ । स्रोतले पछिल्लो समय उनी विभिन्न राजनीतिक दलका नेताहरुसँग निरन्तर संवादमा रहेको दाबी गरेको छ । यद्यपि राजनीति प्रवेशको सम्भावनाबारे हमाल स्वयम्ले इन्कार गरेका छन् ।