काँग्रेसका वकिलहरूमाथि कारबाही
नेपाली काँग्रेसनिकट कानुन व्यवसायीहरूको संगठन डेमोक्रेटिक लयर्स एशोसिएशन (डिएलए) ले तीन वरिष्ठ अधिवक्तासहित पाँच जनालाई कारबाही गरेको छ । डिएलएले बिहीबार नेपाल बारका दुई पूर्व अध्यक्षसहित पाँच जनालाई अन्तर्घातमा अनुशासनको डण्डा चलाएको हो ।
डिएलएले बार एशोसिएशनको निर्वाचनमा संगठनका उम्मेदवारलाई हराउने भूमिका खेलेको आरोप लगाएको छ । डिएलएको हालैको निर्णयअनुसार बारका पूर्व अध्यक्षद्वय हरिहर दाहाल र प्रेमबहादुर खड्कालाई साधारण सदस्यसमेत नरहने गरी हटाइएको छ भने डिएलएका पूर्व अध्यक्ष यदुनाथ खनालको पनि त्यसैगरी साधारण सदस्यता नरहने भएको छ । कारबाहीमा बारका पूर्व महासचिव विजय मिश्र र काठमाडौँ बारका पूर्व अध्यक्ष सीताराम दवाडीसमेत परेका छन् ।
यसअघि २०७५ चैतमा सम्पन्न बारको निर्वाचनमा वामपन्थी समूहबाट अध्यक्षको उम्मेदवार चण्डेश्वर श्रेष्ठसँग डिएलएका सुनिलकुमार पोखरेल पराजित भएका थिए । पोखरेलको पराजयपछि गठित सुझाव समितिको सिफारिश र प्राप्त केही उजुरीका आधारमा पाँच जनालाई कारबाही गरिएको बताइएको छ । डिएलएको अनुशासन समितिले गत भदौ ३ गते पाँचै जनासँग स्पष्टीकरण सोधेको थियो । तर,उनीहरूले स्पष्टीकरण नदिएपछि नियमानुसार कारबाही गरिएको बताइन्छ ।
यसैबीच कारबाही गरिएका भनिएका पाँचै जनाले हिजो एक विज्ञप्ति प्रकाशित गरी ‘एसोसियसनको विधानको धारा २० विपरित कुत्सित उद्देश्य राखी जबरजस्त तवरबाट कथित अनुशासन समिति गठन भएको,उक्त समितिको नामबाट कुनै आधार,कारण र प्रमाण विना हामीहरूको चरित्रहत्या गर्ने एवम् विगतको आफ्नो अतृप्त चाहना पूरा नभएको झोँक र पूर्वाग्रह राखी भए गरिएको कामप्रति क्षोभ प्रकट’ गरेका छन् । साथै उनीहरूले प्रकाशित गरेको विज्ञप्तिको बुँदा (ग) मा ‘कथित कारबाहीको बहानामा आफ्नो उचाई बढाउने,आफ्नो अभिष्ठ पूरा गर्ने एवम् आफ्ना सदस्यहरूको एकता एवम् वृत्ति विकासमा आघात पुर्याउने बद्नियत छिपेको’ उल्लेख गर्दै अगाडि भनिएको छ ‘एकाधिकारवादको अन्त्य गर्ने प्रण गर्दछौं ।’
टिप्पणीहरू