जनमतबिरुद्ध जङ्गीमा उजुरी

प्रमुख सेनानी जनमत कार्कीले गरेका बदमासी उल्लेख गर्दै उजुरीको खात लागेपछि छानबीन सुरु हुने सम्भावना बढेको छ । सेनाको २७ नम्बर बाहिनी सिरहामा रहँदा कार्कीले बाहिनीपति पंकज कार्कीलाई समेत मोजमस्तीमा डुबाएको र त्यसअघिका बाहिनीपति बलराम श्रेष्ठलाई पनि आर्थिक हिनामिनामा राम्रैसँग लडाएको बारेमा पनि उजुरी परेको छ ।

सबैजसो जर्नेललाई कुनै न कुनै रूपमा हात लिन खप्पिस कार्कीले सिरहाको गोलबजारमा एउटा खेलाडीको घरलाई समेत मस्तीको अखडा बनाएको खबर पहिले नै बाहिरिएको थियो । उनले बाहिनीपति पंकज कार्कीलाई उक्त घरमा दुई महिला सैनिकसहित बेलाबेलामा पुर्‍याएर मस्ती मार्न लगाएको उजुरी समेत परेको बताइएको छ । सिरहामा छँदा आर्थिक र महिलाको मामिलामा निकै चर्चा बटुलेका जनमत हालै पश्चिम पृतना शिक्षालय पोखराको शिक्षाअधिकृतमा सरुवा भएका हुन् ।

जनमतबिरुद्ध सेनाको सिकायत तथा जाँचबुझ निर्देशनालयमा परेको लिखित उजुरीबारे आवश्यक छानबिनको लागि प्रक्रिया अघि बढ्नसक्ने भएपनि तत्काल उनीमाथि कुनै कारबाहीको सिफारिश नभएको सैनिक स्रोतले बताएको छ । उनलाई विशेषगरी बाहिनीपतिहरूलाई खुसी बनाउन मातहतका निकाय र महिला सैनिकको दुरूपयोग गरेकोबारे धेरैवटा उजुरी परेपछि नेपाली सेना गम्भीर बनेको हो ।

टिप्पणीहरू