पुरुष महिला मन्त्रीद्वारा गर्भवती र सुत्केरी उद्धारको तथ्यांक पेश

पुरुष महिला मन्त्रीद्वारा गर्भवती र सुत्केरी उद्धारको तथ्यांक पेश

महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री नवलकिशोर साह सुडीले एक वर्षे कार्यकालको उपलब्धि सुनाएका छन् । आज पत्रकार सम्मेलनमार्फत उनले मन्त्रालय सम्हालेको वर्ष दिनमा भए-गरेका कामको फेहरिस्त सार्वजनिक गरेका हुन् । 

मन्त्री सुडीकाअनुसार यो एक वर्षमा दुर्गम क्षेत्रका १३२ जना गर्भवती तथा सुत्केरी महिलाहरूको हवाई उद्धार गरिएको छ । हिँसा पीडित महिला तथा किशोरीलाई सुरक्षित रुपमा पुनःस्थापना गर्न राष्ट्रियस्तरको 'मंगला-साहाना दीर्घकालीन पुनस्र्थापना केन्द्र' मा १८ जनाले सेवा प्राप्त गरिरहेको तथ्यांक पनि उनले सुनाए । 

महिला हिंसाविरूद्धको सचेतनाका लागि टेलिश्रृङ्खला निर्माण भई नेपाल टेलिभिजनबाट प्रशारण भएको कुरालाई पनि मन्त्रीले आफ्नो कार्यकालको ठूलो उपलब्धि भनेका छन् । मधेस प्रदेशका विभिन्न ५ जिल्लामा 'खुलेर बोलौ, लैङ्गिक हिंसा अन्त्य गरौं' सडक नाटक प्रदर्शन गरेको, सातौं महिला अधिकार दिवसको अवसरमा प्रत्येक प्रदेशबाट १-१ जना उत्कृष्ट महिला उद्यमीलाई कदरपत्रसहित १ लाख नगद पुरस्कारबाट सम्मानित गरेको जस्ता कुरा पनि उनले उपलब्धिमा समेटेका छन् । 

पशुपति वृद्धाश्रममा ६८ जना ज्येष्ठ नागरिक (पुरुष २४ र महिला ४४) लाई आवास, भरणपोषण, स्वास्थ्य उपचार सेवा उपलब्ध गराइएको  पनि उनले बताए । १३३ जना कुष्ठरोग प्रभावितहरूको लालनपालनका लागि नेपाल कुष्ठरोग निवारण संघलाई अनुदान सहयोग उपलब्ध गराएको विवरण पनि मन्त्री सुडीले प्रस्तुत गरे ।

मन्त्रीले भने अनुसार अपाङ्गता भएका व्यक्तिको राष्ट्रिय नीति कार्यान्वयन कार्ययोजनाको मस्यौदा पनि तयार भएको छ । अन्तर्राष्ट्रिय गैरसरकारी संस्था परियोजना सहजिकरण समितिको सिफारिसमा ५० परियोजना सम्झौता र २८ वटा साधारण सम्झौताको सहमति प्रदान भैसकेको छ ।

टिप्पणीहरू