घुस काण्डमा मुछिएकी रञ्जिता जिम्मेवारीबाट अलग, बरिष्ठले पाए कार्यवाहक
घुस लेनदेनको आरोप लागेपछि अख्तियारको छानविनमा तानिएकी नागरिक उन्मुक्ति पार्टी (नाउपा) अध्यक्ष रञ्जिता श्रेष्ठले जिम्मेवारी त्यागेकी छन् ।
विगत केही दिनदेखि आफ्नो स्वास्थ्यमा समस्या देखिएको र पार्टी गतिविधिमा सहभागिता जनाउन असहज भइरहेको भन्दै उनले वरिष्ठ नेता शिव बास्तोलालाई कार्यवाहक तोकेकी हुन् । यसअघि नाउपाका बहुमत नेताहरुले तत्काल केन्द्रीय समितिको बैठक बोलाउन माग गरेका थिए ।
‘मेरो स्वास्थ्य अवस्थाका कारण पार्टीको कार्यसंचालन र महत्वपूर्ण निर्णय प्रक्रियामा मेरो भौतिक उपस्थिति सम्भव नदेखिएकाले पार्टीको कार्यप्रवाहमा कुनै अवरोध नआओस् भन्ने उद्धेश्यले यो निर्णय गरिएको छ', अध्यक्ष रञ्जिताले बास्तोलालाई सम्बोधन गर्दै लेखेको पत्रमा भनिएको छ ।
आफ्नो स्वास्थ्यमा सुधार नभएसम्म वा अर्को व्यवस्था नभएसम्मका लागि यो जिम्मेवारी निरन्तर रहने उनले उल्लेख गरेकी छन्।
संरक्षक रेशमलाल चौधरीले केही दिनअघि भिडियो सन्देश जारी गर्दै रञ्जितालाई सम्पर्कमा आउन र केन्द्रीय समितिको बैठकमा उपस्थित भएर आरोपबारे स्पष्ट पार्न आग्रह गरेका थिए । तर, रञ्जिताले तत्कालकाे जिम्मेवारीबाट अलग हुने निर्णय गरेपछि अब केन्द्रीय समितकाे बैठक बाेलाउने जिम्मेवारी बास्ताेलामाथि आएको छ ।
पोखराको लिचीबारी जग्गासम्बन्धी घुस डिल प्रकरणमा मुछिएकी रञ्जिता केही दिनअघि अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा स्वर परीक्षण गराउन पुगेकी थिइन्।

टिप्पणीहरू