शिक्षाका हाकिम र गुरुहरुमाथि २४ लाखको बिगो
खोटाङका तत्कालीन तीनजना जिल्ला शिक्षा अधिकारी (जिशिअ)सहित १३ जनाविरुद्ध भ्रष्टाचारको मुद्दा दायर गरिएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले तत्कालीन जिशिअहरु गणेश प्रसाद भट्टराई, केशव प्रसाद दाहाल र ज्ञानमणि नेपालसहित विद्यालय व्यवस्थापन समितिका अध्यक्ष, प्राध्यानाधापक र शिक्षकहरुविरुद्ध विशेष अदालतमा मुद्दा लगाएको हो ।
हलेसी तुवाचुङ नगरपालिका–४ स्थित लक्ष्मी माध्यमिक विद्यालय र बडहरेको विद्यालय भवन निर्माण गर्दा तत्कालीन विद्यालय व्यवस्थापन समिति अध्यक्षको मिलेमतोमा डीपीसी मात्र तयार गरी रकम हिनामिना गरेको अख्तियारको दावी छ ।
विद्यालय भवन निर्माणको लागि ०७१ सालमा जिल्ला शिक्षा कार्यालयले २४ लाख उपलब्ध गराउने र बाँकी विद्यालयले व्यहोर्ने सहमति भएको आरोप पत्रमा उल्लेख छ । तर विद्यालयका प्राधानाध्यापक, विव्यस अध्यक्ष र जिशिअको मिलेमतोमा सहमति विपरित रकम निकासा गरेर अनियमितता गरेको अख्तियारको ठहर छ ।
तत्कालीन जिशिअ भट्टराईसँग १० लाख बिगो माग गरिएको छ, भने दाहाल र नेपालसँग जनही १४ लाख बिगो कायम गरिएको छ । त्यस्तै, विद्यालयका तत्कालीन प्रधानाध्यापकद्वय राजेन्द्र प्रसाद दाहाल र ऋषिराम पोखरेलसँग पनि जनही ८ लाख बिगो तोकिएको छ ।
टिप्पणीहरू