टिभीका कर्मचारीले पाए तलब, रेडियोतिर भोकै

टिभीका कर्मचारीले पाए तलब, रेडियोतिर भोकै

सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले रकम निकासा गर्न नसकेका कारण रेडियो नेपालका कर्मचारीहरुको तलब रोकिएको छ । भदौको आधा महिना बितिसक्दा पनि कर्मचारीहरुले साउनकै तलब पाउन सकेका छैनन् । तलब नपाएपछि कर्मचारीहरुले सामाजिक सञ्जालमा आक्रोशपूर्ण अभिव्यक्ति पोख्न थालेका छन् । 

रेडियो नेपालमा कार्यरत तथा प्रधानमन्त्री केपी ओलीका पूर्व प्रेस सल्लाहकार प्रमोद दाहालले फेसबुकमा स्ट्याटस लेख्दै कार्यकारी अध्यक्ष डा. महेन्द्र विष्ट र कामु प्रमुख प्रशासकीय अधिकृत विष्णुराम न्यौपानेले टेलिभिजनबाट तलब खाएको तर रेडियोका कर्मचारीमाथि भने विभेद गरिएको आरोप लगाएका छन् । उनका अनुसार विष्ट र न्यौपानेले गत साउन २५ गते नै तलब बुझिसकेका छन् । 

उनले हिजो लेखेका थिए,‘कार्यकारी अध्यक्ष र कामु प्रमुख प्रशासकले तलब खानु भो क्यारे साउन २५ मै ! टिभीबाट !! अनि बिचरा रेडियोकालाई नि ! अनि आज भदौ कति हो ? शरम छैन ? किन विभेद ? संस्था एउटै रे पिएसबी ! मन्त्री गुरुङ्गले विचार गर्नुस् !’

उनैले आज फेरि सामाजिक सञ्जालमा अर्को आक्रोश पोखेका छन्, ‘आदरणीय सञ्चारमन्त्रीजी,तपाईकै अन्तर्गत त होला नि सार्वजनिक सेवा प्रसारण ! एउटै त होला नियम कानुन ? अनि किन विभेद ? किन चाडपर्वको बेला पनि रेडियोमा साउनकै तलब आएन ? के हो यथार्थ ? जवाफ दिनुस् !! ? अनि किन काम गर्ने ? हामी के खेताला हो ?!!

एउटै त होला नियम कानुन ? अनि किन विभेद ? किन चाडपर्वको बेला पनि रेडियोमा साउनकै तलब आएन ? के हो यथार्थ ? जवाफ दिनुस् !! ? अनि किन काम गर्ने ? हामी के खेताला हो ?!!

सार्वजनिक सेवा प्रशारण नेपालका प्रवक्ता निमित्त नायव कार्यकारी निर्देशक पुष्करराज गौतमले मन्त्रालयबाट निकासामा ढिलाइ भएको बताए । उनका अनुसार हालसम्म रकम निकासा नै भएको छैन । 

‘महिना सक्किनेबित्तिकै खातामा तलब आउँथ्यो । तर,यसपटक मन्त्रालयबाट निकासा नै भएको छैन । त्यसैले ढिलाइ भएको हो । अबको एकाध दिनमा तलब प्राप्त होला’,उनले भने । त्यसैगरी, गुनासो सुन्ने अधिकारी बद्रीविशाल तण्डुकारले विष्ट र न्यौपानेले विगतदेखि नै टेलिभिजनबाट तलब खाने गरेको बताए । 

संस्था एउटै भए पनि खाता छुट्टाछुट्टै भएको उनको भनाइ छ । भन्छन्,‘उहाँहरुले अहिलेदेखि होइन, शुरुदेखि नै उतैबाट तलब खाइरहनुभएको छ । संस्था एउटै भएपनि खाता एउटै भइसकेको छैन ।’

तण्डुकारका अनुसार रेडियोका कर्मचारीलाई तलब खुवाउन सरकारी निकासा कुर्नुपर्छ । तर, टेलिभिजनको हकमा आफ्नै कोष भएको उनले जानकारी दिए । अगाडि थपे,‘रेडियो त पहिल्यैदेखि सरकारमै भर पर्ने हो । तर, टेलिभिजनले आफ्नै कोष खर्च गर्छ । सरकारले निकासा नगरे पनि त्यहाँका कर्मचारीहरुको तलब रोकिँदैन ।’

मन्त्रालयका प्रवक्ता सहसचिव गजेन्द्रकुमार ठाकुरले तलब निकासा नहुनुको कारण आफूलाई जानकारी नभएको बताए । रेडियो नेपालमा ३४० स्थायी र झण्डै दुई सय करार कर्मचारी कार्यरत छन् ।

टिप्पणीहरू