जेन जीको नाममा मच्चाइएको विध्वंसका क्रममा जेलबाट भागेका कैदीहरू समातिने क्रम जारी रहँदा नक्कली भुटानी शरणार्थी प्रकरणका फरार प्रतिवादी सन्देश शर्मा पक्राउ परेका छन् । काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको टोलीले उनलाई आज ललितपुरको बखुन्डोलबाट नियन्त्रणमा लिएको जनाएको छ ।
नक्कली शरणार्थी खडा गरेर करोडौँ कुम्ल्याउने गिरोहमा संलग्न रहेको अभियोगमा जेल परेका दाङको तुलसीपुर १६ का शर्मा भदौ २४ गते केन्द्रीय कारागार सुन्धाराबाट भागेका थिए । सहकारी ठगी प्रकरणका अभियुक्त राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने उक्त दिन नख्खु कारागारबाट निस्किएपछि देशभरका झण्डै १५ हजार कैदीबन्दी भागेका थिए । त्यसमध्ये करिब तीन हजार कैदी पुनः पक्राउ परिसकेको प्रहरीले जनाएको छ ।
प्रहरीले भागेका कैदीलाई तत्काल कारागार फर्किन सूचना जारीसँगै खोजी कार्यलाई निरन्तरता दिएको छ । शर्मा शरणार्थी प्रकरणअघि ललितपुरको हरिसिद्धिमा बस्दै आएका थिए ।