चितवनको माडीमा आज बत्ती बाल्ने प्रयास
चितवनको माडीमा चार दिनदेखि अवरुद्ध विद्युत सेवा सञ्चालनमा आउन सकेको छैन । विद्युत प्रसारण लाइनमा समस्या भइरहँदा माडी नगरपालिका पूरै अन्धकार र हाहाकारको स्थितिमा छ ।
शुक्रबार रातीदेखि लाइन नहुँदा दैनिकी प्रभावित भएको स्थानीय बताउँछन् । माडीमा पहिला विद्युतीकरण नहुँदा प्रत्येकको घरमा सोलार थियो, अहिले त्यो पनि छैन । हिजो घर जाँदा मैनबत्ती बालेर खाना खाएको माडी–७ घर भई भरतपुर बस्ने सञ्जय बरालले बताए । भने, ‘गर्मीमा लाइन नहुँदा बच्चाहरु एकदम आत्तिएका छन् ।’
आज दिउँसो भरतपुर खानेपानी व्यवस्थापन बोर्डका कार्यकारी निर्देशकसँग फोन संवादका क्रममा माडीको बघौडा खानेपानी उपभोक्ता समितिका अध्यक्ष सोमनाथ ओझा भन्दै थिए, ‘विद्युत आपूर्ति बन्द भएपछि खानेपानी नै दिन सकिएको छैन ।’ अहिले यहाँ बजार क्षेत्रमा खानेपानीको अत्यन्त हाहाकार भइरहेको उनले बताए ।
बिजुली गएकै निहुँमा आजबाट माडी नगरपालिका र वडा कार्यालयहरू पनि बन्द गरिएका छन् । ‘जेन जी भाइहरु आएर आजबाट कार्यालय बन्द गरिदिए’, माडी–२ का वडाअध्यक्षसमेत रहेका नरपालिकाका प्रवक्ता डण्डपाणि पौडेलले भने, ‘तीन दिन भयो लाइन नआएको । एकदम अस्तव्यस्त भा’छ, पानी खान नपाएर बस्तुभाउ पनि मर्न लागे । उहाँहरु (जेनजी)को माग दुईवटा छ, एउटा बिजुलीको स्थायित्व हुनुपर्यो, अर्काे जंगलको बाटो पिच गरिनुपर्यो ।’
विद्युत प्राधिकरणले आवश्यक मर्मतपश्चात हिजै लाइन आउने जनाएको थियो । केही ठाउँमा बनाइएको पनि हो, तर तुरुन्तै फेरि अर्काे ठाउँमा समस्या देखिएको बताइन्छ । त्यसैले आज पनि विद्युत आउने, नआउने ठेगान छैन ।
प्राधिकरणको चनौली वितरण केन्द्रका प्रमुख राजकुमार श्रेष्ठ भन्छन्, ‘जुन फेजमा प्रोब्लम भाथ्यो, त्यो सल्भ भाछ, हिजो चार्ज गर्दाखेरि फेरि अर्काे फेजमा प्रोब्लम देखियो, त्यो एक ठाउँमा हामीले अहिले गर्दैछौँ ।’ दुई घन्टाअघि फोन सम्पर्क गर्दा उनले भने, ‘त्यो सिद्धिएपछि हामी फेरि लाइन दिन्छौं, थप अर्काे फल्ट आएन भनेचाहिँ आजै चार्ज हुन्छ ।’
कतिपय ठाउँमा देखिएको समस्या समाधानको प्रयास सफल भए आज बेलुकी आठ बजेसम्ममा विद्युत सेवा प्रसारण हुने वितरण केन्द्र प्रमुखको भनाइ छ । तर, उनले ठ्याक्कै भन्न नसकिने पनि बताए ।
‘तीन ठाउँमा हिजो बनाएर लाइन दिएको हो, १० मिनेट पनि होल्ड भएन, फेरि गइहाल्यो’, उनले भने । अब धेरै ठाउँमा जोइन्ट भइसकेको हुँदा समस्या फेरि बल्झिन सक्ने श्रेष्ठ बताउँछन् ।
सडक विस्तारको क्रममा जेसिबीले जथाभावी खनेका कारण पनि विद्युत आपूर्तिमा समस्या हुन पुगेको हो । ढापैढाप र घोल भएर केबलहरु पानीमा पनि परेका छन् ।
यसबारे बुझ्न र विद्युत सुचारु गराउन प्राधिकरण बागमती प्रदेश प्रमुख जितेन्द्रकुमार झा पनि मादी पुगेका छन् । उनले माडीमा बत्ती बालेर मात्रै फर्किने दिउँसो फोन सम्पर्कको क्रममा बताएका थिए ।
‘नयाँ प्रसारण इनको लागि बजेट पनि आइसक्या छ’ उनले भने, ‘त्यसको लागि टेण्डर प्रक्रियाको तयारी गर्दैछौं । विगतमा पनि टेण्डर त भएको हो तर राइट अ वे चाहिँ नपाएर रोकिएको हो त्यो । अहिले राइट अ वे क्लियर भइसक्या छ । अब हामी एक महिनाभित्रमा टेण्डर आह्वान गदैर्छाैं ।’
नयाँ प्रसारण लाइन पनि भूमिगत नै हुने डिभिजन प्रमुख बताउँछन् । यसैबीच, अहिले १५ मिनेट अगाडि पुनः फोन सम्पर्क गर्दा भर्खरै रिउखोलासम्म काम सफल भएको उनले जानकारी दिए ।
‘रिउबाट माडी सबस्टेशन १२ किमि छ । अब हामी त्यहाँ गएर हेर्दैछौं सबस्टेसनको स्थिति । माडीमा आजै बत्ती बल्छ बल्दैन, त्यहाँ पुगेर मात्र थाहा हुन्छ । मुख्य निकुञ्जको समस्या चाहिँ क्लियर भयो’ भन्दै उनले सकेसम्म माडीमा आजै बत्ती बाल्न आफूहरु प्रयत्नशील रहने बताए ।
टिप्पणीहरू