प्रहरीले लुटपाटमा संलग्न दुई जनालाई नियन्त्रणमा लिएको छ। गएराति ११ बजे तारकेश्वर नगरपालिका–५, गोलढुंगा फूलबारी गेट नजिकै एक युवकमाथि लुटपाट गरेको आरोपमा दुई जनालाई पक्रेको प्रहरीले जनाएको छ ।
मकवानपुरको भीमफेदी गाउँपालिका–५ घर भई हाल काठमाडौंको बूढानीलकण्ठ बस्ने २६ वर्षीय सूर्यबहादुर घलान र सिन्धुलीको दुधौली नगरपालिका–१० घर भई हाल बूढानीलकण्ठमै बस्ने २३ वर्षीय मनोज चौधरीले राति एक युवकलाई धारिलो हतियार देखाएर ब्याग लुटेका थिए ।
बा.४२ प ४०६९ नम्बरको पल्सर मोटरसाइकल चढेका उनीहरूले ब्यागमा रहेको नगद, रोलेक्स घडीलगायत लुटेका थिए । पक्राउ परेकाको साथबाट खुकुरी र ट्रामाडोल नामक लागुऔषध फेला परेको दुबै जना दुर्व्र्यसनी हुनसक्ने प्रहरीको अनुमान छ । हाल उनीहरूलाई प्रहरी वृत्त बालाजुले थप अनुसन्धान अघि बढाएको छ ।