भदौ २३ गतेको प्रदर्शनमा पानी बाँड्ने भूमिकाबाट रातारात जेनजी अगुवा बनेर उदाएका ‘हामी नेपाल’ एनजिओका संस्थापक सुदन गुरुङले आफूलाई केही व्यक्तिले सरकारविरुद्ध प्रयोग गरेको खुलासा गरेका छन् । गैरराजनीतिक अभिव्यक्तिका कारण चर्चा र विवादमा आइरहने उनले हालै एक सुरक्षा प्रमुखसँगको भेटमा बिचौलिया दीपक भट्ट र पूर्वप्रधानन्यायाधीश कल्याण श्रेष्ठको नाम लिएर आफू भड्काउमा परेको दाबी गरेका हुन् ।
स–साना घटनाले पनि उद्धेलित भैहाल्ने गुरुङ मनमा लागेका कुरा फ्याट्ट बोलिहाल्ने स्वभावका छन् । अरू जेनजीले जस्तो भाषा र प्रस्तुति मिलाएर तर्क–वितर्क र बहस गर्दैनन् । औपचारिक बैठक÷छलफलमा पनि ठाडो बोल्ने उनलाई प्रक्रियासँग मतलव छैन, आफूले चाहेजस्तो परिणाम खोज्छन् । जेनजी प्रदर्शनमा प्रहरीलाई गोली चलाउन आदेश दिएको भनिएका तत्कालीन प्रधानमन्त्री केपी ओली, गृहमन्त्री रमेश लेखक र काठमाडौँका सिडिओलाई पक्राउ नगरेकोमा सरकारसँग रुष्ट रहँदै आएका छन् ।
केही समयअघि प्रधानमन्त्री सुशीला कार्कीको राजीनामा मागेका उनी केही समयअघिसम्म गृहमन्त्री ओमप्रकाश अर्याललाई हटाउन कस्सिएको देखिन्थ्यो । स्रोतका अनुसार यसै सन्दर्भमा कुरा गर्न हालै एक फौजी कमाण्डरकहाँ पुगेका बेला गुरुङले आफू केही व्यक्तिको भड्काउमा परेर प्रधानमन्त्रीको राजीनामा मागेको कुरा चुहाएका थिए । राज्य सञ्चालनको आफ्नै प्रक्रिया हुने भएकाले सबै कुरा प्रधानमन्त्री र मन्त्रीहरूले चाहेर पनि गर्न नसकिने अवस्था रहेको भन्दै सम्झाउँदा सहमत हुँदै उनले फ्याट्ट भने– मलाई कल्याणहरूले भड्काएका हुन् । यिनीहरू खराब रहेछन्, कारवाही हुनुपर्यो ।
प्रधानमन्त्रीसँग गुरुङको गुनासो आफूले सिफारिस गरेकालाई मन्त्री नबनाएकोमा हो । गृहमन्त्री अर्यालप्रति उनको चित्त दुखाई फरक छ । ओली र लेखकलाई नसमातेकोमा त रिसाएकै छन् फोन नउठाएकोमा पनि मन दुखाएका रहेछन् । ‘हामीले बनाएको मन्त्रीले हाम्रै फोन नउठाउने ?’ दुई जनाको संवादमा प्रत्यक्षदर्शी स्रोतले सुनायो । शुरुमा आफैँ गृहमन्त्री बन्न खोजेका गुरुङ पछिल्लो मन्त्रिपरिषद विस्तारमा आफू निकट कम्तिमा एक जनालाई मन्त्री बनाउन चाहन्थे । त्यसमा पनि महिला, बालबालिका तथा समाज कल्याण मन्त्रालयमा उनको बढी चासो थियो, तर सफल भएनन् । उनको एनजिओले विदेशबाट करोडौं रकम ल्याएको देखिन्छ । तर, लामो समयदेखि साधारण सभा भएको छैन । त्यसकारण उक्त मन्त्रालयमा आँखा पारेका उनी भावना राउतलाई मन्त्री बनाउन चाहन्थे तर प्रधानमन्त्री कार्कीको रोजाईमा रक्षा बम परिन् र त्यो प्रक्रिया अब रोकियो ।
रक्षासँग गुरुङको भयङ्कर दुष्मनी छ भनिन्छ । गृहमन्त्री अर्यालका पिए धिरज जोशीले आफ्नो क्षेत्र सुदूरपश्चिमकी रक्षालाई ल्याउन खोजेको बुझेका गुरुङ उनलाई हरहालतमा रोक्नुपर्ने अडानमा देखिन्थे । तर, प्रधानमन्त्री कार्कीले पछिल्लो एउटा भेटमा आफ्नै अगाडि रक्षा बमको प्रशंसा गरेपछि उनी थप रुष्टिएको बताइन्छ । स्मरणीय के छ भने सुदन गुरुङले जसको नाम लिएर आफू भड्काउमा परेको स्वीकार गरे ती पात्रमाथि सरकार ढाल्न भित्रभित्र सक्रिय रहेको आरोप लागिरहेको छ । न्यायालयमा समानान्तर सत्ता चलाएको भनिएका उनी अदालतबाट प्रतिनिधिसभा पुनःस्थापित गराएर आफू प्रधानमन्त्री बन्ने खेलमा लागेको चर्चासमेत छ । हालै उनले संसद् पुनःस्थापनाको पक्षमा रहेका एमाले अध्यक्ष केपी ओलीलाई भेटेका थिए ।
(जनआस्था साप्ताहिकको मंसिर ३ गते बुधबारको अंकमा प्रकाशित)