निषेधाज्ञा खुलेपछि मठ मन्दिरमा भीड,दक्षिणकालीमा पनि त्यस्तै

निषेधाज्ञा खुलेपछि मठ मन्दिरमा भीड,दक्षिणकालीमा पनि त्यस्तै

–अमृत पौडेल

सरकारले झण्डै दुई महिनादेखि लगाएको निषेधाज्ञा क्रमशः हटाएपछि अन्यत्रझैँ मठ मन्दिरमा पनि सर्वसाधारणको भीड देखिन थालेको छ । त्यहि क्रममा दक्षिणकाली मन्दिरमा समेत दर्शनार्थीहरूको संख्या बढेको हो । स्वास्थ्य मापदण्डलाई ख्याल नराखी दर्शनार्थीहरूको घुईंचो बढेपछि मठ मन्दिरहरू संक्रमणको नयाँ हटस्पट बन्ने सम्भावना बढेको छ ।निषेधाज्ञामा सबै मठ,मन्दिर तथा धार्मिकस्थलहरू सुनसान थिए । तर,केही दिनयता भक्तजनहरूको उपस्थिति बढ्न थालेको दक्षिणकाली मन्दिरका मुख्य पूजारी देवेन्द्रमान कर्माचार्यले बताउनुभएको छ । उहाँका अनुसार महिनौं सुनसान रहेको मन्दिरमा अघिल्लो सातादेखि दर्शनार्थी बढेका हुन् ।

मन्दिरमा मार्बलको प्रयोगले मौलिकता नझल्किएपछि निषेधाज्ञामा मार्बल झिकेर ढुंगा छाप्ने काम भइरहेको छ । मन्दिरको आफ्नै कोषको रकमबाट मर्मत खर्च ब्यहोरिएको पूजारी कर्माचार्यले जानकारी दिनुभएको छ ।


दक्षिणकाली मन्दिरको दर्शन गरे चिताएको पूरा हुने विश्वास र धार्मिक मान्यता रहेको छ । दक्षिणकाली देवीलाई पञ्चबली दिए पुत्रलाभ हुने धार्मिक विश्वास रहेको स्थानीय मिना चापागाईले पनि बताउनुभयो । मूलतः दशैँको बेला यहाँ विशेष मेला लाग्छ । दशैँको नवरात्रीमा भक्तजनहरू हाँस, कुखुरा,राँगो र बोकाको बलि दिन आउने गरे पनि पछिल्लो समय अन्य महिनामा समेत भीड हुन थालेको काफ्लेको अनुभव छ ।

साक्षात् शक्तिकी देवी भएकाले नेपालका विभिन्न भाग तथा भारतलगायत अन्य मुलुकबाट आउने हिन्दू धर्मावलम्बीहरूले समेत दक्षिणकालीमा पूजाआजा गर्ने गरेको पाइएको छ ।

दक्ष प्रजापतिका तेत्तिसकोटी कन्यामध्येकी एक दक्षिणकालीले आसन लिने क्रममा शिखरापुर नगरको शिरोभाग अर्थात् नगरचो डाँडामा विराजमान भएको किंवदन्ती रहँदै आएको छ । काठमाडौँको दक्षिणकाली नगरपालिकामा अवस्थित दक्षिणकाली मन्दिर साँच्चिकै दक्षिण भेगमा अवस्थित छ ।

करिब ५२ हेक्टर क्षेत्रफलमा फैलिएको यो मन्दिर राजा प्रताप मल्लको पालामा निर्माण गरिएको हो । ऐतिहासिक र धार्मिक महत्वले भरिपूर्ण मन्दिर दुई साना नदीको संगममा अवस्थित छ ।

 

टिप्पणीहरू