​सम्मान कि सास्ती, शान कि मस्ती

सरकारले लामो समय राष्ट्रसेवामा समर्पित गरेबापत ५३ वर्षको उमेरमै ३४ हजार पेन्सन पाउनेगरी अवकाशप्राप्त जनशक्तिलाई निवृत्तिभरणमार्फत पालेको हुन्छ । तर, सेवाअवधि सकिएपछि जागिरको इज्जत र आफ्नै प्रतिष्ठाको पनि ख्याल नगरिँदा त्यसको असर सरकार वा राज्यलाई हैन, स्वयं व्यक्तिलाई पर्ने गरेका केही दृष्टान्त छन् । 

सुरक्षा निकायमा निश्चित दर्जाका अधिकृतलाई अवकाशपछि चालकसहित घरेलु सहयोगीसमेत दिने चलन छ । त्यो सुविधाभन्दा बढी सम्मानका लागि हो । तर, सम्मानको कदर नगरिदिँदा के हुन्छ ? उदाहरण छन्, भूपूएआइजी रमेशशेखर बज्राचार्य, वीरेन्द्रबाबु श्रेष्ठ, किरण गौतमहरू । कोही मारवाडी त कोही गाडी बिक्रेताकोमा जागिर खान्छन् । कोही शिवम सिमेन्ट र एनसेलको सुरक्षा हेर्छन् । भन्नलाई सल्लाहकार, बोर्ड सदस्य वा त्यस्तै सम्मानितजस्तो पद भनिन्छ । तर सारमा उनीहरूको भूमिका हो, वास्तविक श्रम गर्न हैन, सरकारी निकायसँग भैपरी अप्ठेरोमा समन्वयको ।

त्यस्ता मालिकले किन सुरक्षाफौजबाट आएका हाकिम रोज्छन् ? किनभने, त्यहाँ करछली या मारमुंग्रीसम्बन्धी गतिविधि हुन्छन् । भ्याट छल्नेदेखि नेपालीलाई जुवा खेलाउनेसम्मका काम हुने ठाउँमा हिजोसम्म कानुन कार्यान्वयनको जिम्मेवारी पाएकाहरू ताँती लागेर किन जागिर खान पुग्छन् ? १०–१२ वर्षअघिसम्म विभिन्न रेष्टुरेण्टमा बाउन्सरको काम गर्ने  ‘बले’ जस्ता मान्छेले मिटर ब्याजमा पैसा लगाउने धन्दा पनि त्यतै हुन्छ । र, पुलिसको डिआइजी, एआइजीबाट जागिर सिध्याएकाहरू उनैसँग गला मिलाएर बसेका छन् । ड्युटीवाल प्रहरी अवैध गतिविधि नियन्त्रणका लागि क्यासिनो छिर्न खोज्छ वा कुनै मारवाडीको व्यवसायमा जब हात हाल्न खोज्छ, हिजोका हाकिमले बाटो छेकिदिन्छन् । यसप्रकार रिटायर्ड भएपछि मारवाडीकहाँ जागिर खाने ध्याउन्न छ भने जागिर सकिनँ–सकिनँ लाग्दा ऊ कोप्रति बफादार हुन्छ ? प्रष्ट छ, बेलैमा साहु–महाजन खोज्दै हिँड्छ ।

दोहोरो सुविधा खाने यस्तो बेथिति न्यायक्षेत्रमा भने प्रतिबन्धित छ । सर्वोच्चबाट अवकाश पाएका न्यायाधीशले न वकालत गर्न पाउँछन्, न त राष्ट्रिय मानवअधिकार आयोगबाहेक कतै जान नै पाउँछन् । खिलराज रेग्मीमात्र हुन्, काकताली परेर चुनावी सरकारको अध्यक्ष बन्न पुगेका । सबैलाई त्यो मौका आउँदैन । कुमार कोइराला, केदार साउद, यादव अधिकारी, इन्द्र न्यौपानेजस्ता एकेडेमिक काममा जोडिने पूर्वसुरक्षाकर्मी कति छन् अनि आफ्नो अर्दलीलाई कपडा पसलको ड्युटीमा खटाउने को–को हुन् ?

अवकाशपछि एउटा कर्मचारी व्यक्तिमा परिणत भए पनि उसको आचरण र भूमिका पूर्वसेवारत संस्थासँग जोडिएको हुन्छ । सर्वोच्चका भूपू न्यायाधीश क्यासिनोको कानुनी सल्लाहकार हुन थाले भने कहाँ पुग्छ, मानिसहरूमा न्यायप्रतिको विश्वास र सम्मान ? सुरक्षाको हकमा पनि कुराचाहिँ त्यही हो । 

अख्तियारको प्रमुख आयुक्तसमेत भइसकेका लोकमानसिंह कार्की, दीप बस्न्यातहरू आज कहाँ छन् ? विवाह, ब्रतबन्धजस्ता सामाजिक सम्बन्ध र सार्वजनिक उपस्थितिमा समत जान नसक्ने अवस्थामा छन् । सामाजिक जीवन नै ध्वस्त हुने गरी किन मुख देखाउन सक्दैनन् ? कारण हो, पदमा हुँदा गरिएको अनावश्यक फूर्तिफार्ती !

टिप्पणीहरू