जलवायु परिवर्तनको भयावह असर : शताब्दीदेखिको थातथलो छाड्दै रैथानेहरु

जलवायु परिवर्तनको भयावह असर : शताब्दीदेखिको थातथलो छाड्दै रैथानेहरु

समुद्री सतह बढ्दैजाँदा पानामाको तटीय क्षेत्रमा बसोबास गर्दैआएका ‘गुना आदिवासी’हरू विस्थापित भएका छन् । तल्लो क्यारिबियन टापुहरू जलवायु परिवर्तनको मारमा पर्दा उनीहरू दशकौँदेखि बसोबास गरिरहेको टापुबाट सुख्खा भूमिमा सर्न बाध्य भएका हुन् ।

चर्को गर्मी, डरलाग्दो आँधी र टापुमा जल सतह बढ्दैजाँदा हजारौँ आदिवासीलाई उनीहरूकै मूलथलोमा स्थानान्तरण गरिएको अधिकारीहरूले जनाएका छन् । ७२ वर्षअघि कार्टी सुग्तुपु टापुमा जन्मिएका लोपेजले भने, ‘हामीहरू निकै दुःखी छौँ । किनभने यो टापु हरायो भने हाम्रो हृदयको एउटा अंश र हाम्रो संस्कृति पनि हराउँछ ।’

अत्यासलाग्दो मौसमबाट उम्किने उपाय खोज्दै हिँडिरहेका उनीहरुलाई पानामा सरकारले सन् २०१८ देखि नयाँ आवास बनाउने अभियान थालिसकेको थियो । सरकारी प्रयास र आदिवासीको उकुसमुकुसलाई चिर्दै अन्ततः उनीहरू आफ्नै क्षेत्रमा सरेका छन् ।

जलवायु परिवर्तनले कार्टी सुग्दुब र गार्डी सुग्दुबका गुना आदिवासीहरूलाई निकै असर परेको छ । उनीहरू ल्याटिन अमेरिकामा जलवायु परिवर्तको सिकार हुने पहिलो समुदायको सूचीमा परेको बताइन्छ । गुनाहरूले आफ्नो गरिखाने थलो मात्र गुमाएका छैनन्, पानामाले पनि एउटा मुख्य पर्यटकीय ‘हब’ गुमाएको छ । यतिबेला संसारको नजर कार्टी सुग्दुब र गार्डी सुग्दुबका आदिवासीमा अड्किएको छ ।

आदिवासीहरू शताब्दीयौँदेखि कार्टी सुग्दुब र गार्डी सुग्दुब टापुमा बस्दै आएका थिए । उनीहरू पछिल्लो समय विभिन्न रोगले थलिएका थिए । र, त्यो सबै जलवायु परिवर्तको असर थियो ।

गार्डी सुग्दुब एक्लो टापुजस्तै छ । वरपर अन्य भूमि छैनन् । उनीहरू त्यहाँबाट वर्षौअघि भाग्न खोज्दै थिए । अहिले त उनीहरू भागी नै सके । आदिवासी समुद्रको पानी रोक्न सक्दैनन् । त्यहाँ निकैबेर तेज हावा चल्छ । ठुल्ठूला छालहरू घरभित्रै आइपुग्छ ।

गुनाहरू अरुभन्दा चतुर देखिन्छन् । उनीहरूले आफ्नो पुख्र्यौली थलो पनि जोगाइ राखेका थिए । मुख्य भूमिमा एकटुक्रा जमिनको जोहो गरेका छन् । उनीहरू अब पानी जीवनबाट सुख्खा जीवन जिउँदैछन् । कतिपय मानिसहरू सुख्खा बस्तीमा सर्न मान्दैनन् । बरु छिमेकीहरू अन्तै सर्दा आफूहरू टापुमै बस्ने बतउँछन् ।

टापुमा निकै समस्या छ– एकाएक मौसम बिग्रिन्छ । समुद्रको जल सतह बढ्छ । सडकमा बाढी आउँछ । तेज हावाले विद्यालयको छाना उडाउँछ । गुनाहरू जलवायु परिवर्तनबाट सबैभन्दा धेरै प्रभावित समुदाय हो । उनीहरूले टापु नै छोडेर भाग्नुपर्ला भन्ने कहिल्यै सोचेका थिएनन् । टापूबाट आधा घण्टाको दूरीमा उनीहरूको नयाँ आवासीय क्षेत्र । जहाँ उनीहरूको आफ्नै खेतबारी थियो ।

अहिले सरकारी सहयोगमा तीनसय नयाँ घर बनेका छन् । घर चिटिक्क छन्, राम्रो शौचालय छ । घरपछाडि चौर छ । यतिबेला टापुका घरहरूको ढोकामा ताला झुन्डिएको छ । उनीहरू मुख्य थलो सर्न पाउँदा खुशी छन् । तर एक शताब्दीभन्दा बढी समयदेखि रमाइरहेको टापु त्याग्नुपर्दा दुःखी पनि त्यत्तिकै छन् ।

केही दिनअघिसम्म गर्दी सुग्दुबमा सुनसान हुनुअघिको चहलपहल थियो । गुनाहरू डुङ्गामार्फत् परिवारका सदस्य र सरसामान मुख्यभूमिमा ओसार्दै थिए । नयाँ ठाउँमा सर्नैलाग्दा उनीहरू दुःखी देखिन्थे ।

‘नयाँ आवासमा कसरी बस्ने’ भन्ने चिन्ता थियो । टापु त्यागेसँगै उनीहरूको पूर्खाको चलनलाई कसरी जोगाउने अर्को चुनौती थपिएको छ । उनीहरू आफ्नो पेशा र संस्कृतिप्रति गर्व गर्छन् । यसलाई एउटा पुस्तादेखि अर्को पुस्तामै हस्तान्तरण गर्ने वाचा गर्छन् । आफ्नो सांस्कृतिक अभ्यास र परम्परागत खाना कायम राख्न उनीहरू कटिबद्ध छन् । 

(एजेन्सीको सहयोगमा)

टिप्पणीहरू