हिउँले चिसो बढाए पनि कर्णालीका किसान दंग

हिउँले चिसो बढाए पनि कर्णालीका किसान दंग

साविक कर्णालीका हिमाली जिल्लाका किसानहरु मध्यपुसमा भारी हिमपात हुदाँ दंग देखिएका छन् । मुगुसहित जुम्ला, हुम्ला, डोल्पाका किसानहरु कृषिबाली सप्रिने भन्दै खुशी भएका हुन् ।

बेलैमा भएको हिमपातपछि गहुँ, जौको उत्पादन बढ्ने आशा पलाएको किसान मणिचन्द्र भामले बताए । मुगुमा यो वर्ष पहिलो पटक हिमपात भएको हो । हिमपातका कारण चिसो बढेको छ तर पनि उनीहरु खेती सप्रिनेमा आशवादी हुँदै दंग परेका हुन् । मुगुको तापक्रम माइनस ३ डिग्री सेल्सियसमा झरेको छ ।

मुगुका प्रमुख जिल्ला अधिकारी रोमबहादुर महतका अनुसार उच्च पहाडी तथा हिमाली क्षेत्रमा निकै धेरै हिमपात भएको छ । मुगुको पूर्वी करान भेगमा पर्ने मुगुम कार्मारोगं गाउँपालिकाका उच्च भेगमा बाक्लो हिमपात भएको स्थानीयले बताएका छन् ।मगु सदरमुकाम गमगढी बजारमा निकै ठूलो वर्षा भएको छ । हिमपात हुँदा जिल्लाका छायाँनाथ रारा नगरपालिका, मुगुमकार्मारोगं गाउँपालिका, सोरु गाउँपालिकाका केही क्षेत्र सेताम्ये भएका छन् ।उता, डोल्पाको सदरमुकाम दुनैमा सामान्य हिमपात भए पनि उच्च क्षेत्रमा पनि धेरै हिमपात भएको छ ।

टिप्पणीहरू