महिलामाथिका अनगिन्ती मनपरि

महिलामाथिका अनगिन्ती मनपरि

घरेलु हिंसाअन्तर्गत भ्रुणहत्या, बलात्कार, बालविवाह, अनमेल विवाह, कुटपिट, एसिड आक्रमण, बोक्सी, छाउपडी, कमलरी, देउकी प्रथा, वादी, अन्धविश्वास आदि पर्दछन् । महिला हुनुको पीडा यतिसम्म कठोर छ कि आमाको गर्भमा रहँदादेखि नै हिंसामा परेकी हुन्छिन् । गर्भमा रहेको भ्रुणदेखि नै छोरा छ कि छोरी छ भनेर परीक्षण गरिएको हुन्छ । छोरी भए जन्मन नदिई भ्रुण हत्या गराइन्छ । अर्कोतर्फ आमा पनि बच्चा जन्माउने नैसर्गिक अधिकारबाट वञ्चित हुन्छिन् । आफ्नै शरीरमाथि पनि उनको अधिकार हुन पाउँदैन । गर्भपतन गराउने कार्यमा ती आमाको कुनै भूमिका हुँदैन । पुरुषले जे भन्छन्, सहर्ष स्विकार्नुपर्ने हुन्छ । उनी यसरी आफ्नै श्रीमान्बाट जघन्य हिंसामा परेकी हुन्छिन् ।

महिलाहरू आफ्नै घरपरिवार, नातागोता तथा इष्टमित्रबाट बलात्कृत भएका हुन्छन् । जसले उनलाई पालनपोषण, शिक्षा दीक्षा, माया, स्नेह दिनुपर्ने हो उसैबाट यस्तो घृणित कार्य हुने गरेका छन् । समाजले के भन्ला भनेर धेरैभन्दा धेरै घटना बाहिर आउन नसकेको हुँदा महिला हिंसा बढ्दै गएको छ ।

महिलाले कार्यस्थलमा पनि पीडित हुनुपरेको छ । डर, त्रास, धम्की, दुव्र्यवहार, ललाई फकाई, प्रलोभन आदिको त झन् बयान गरिसाध्य छैन । हाल बढ्दै गएको मानव बेचबिखन, बेश्यावृत्ति, अभद्र व्यवहार पनि कार्यस्थलमा हुने घटना हुन् । केही वर्षअघि मात्र बहालवाला कृषिमन्त्रीले प्रत्येक वर्ष असार १५ गते मनाइने रोपाइँ महोत्सवमा गरेको यौनजन्य हिंसाका कारण पद गुमाउनुपरेको थियो । केही महिनाअघि तीन नम्बर प्रदेश सरकारका अर्का मन्त्रीलाई पनि पदबाट निश्कासन गर्नुपरेको थियो ।

विभिन्न प्रलोभनमा पारेर विदेश पठाइएका महिलालाई यौनजन्य गतिविधिमा समावेश गराइएका घटना पनि सञ्चारमाध्यममा आइरहेका छन् ।

महिला हिंसा छिमेकी मुलुक भारत, बंगलादेश, पाकिस्तानमा पनि डरलाग्दो रूपमा देखिएको छ । अन्तर्राष्ट्रिय तहमा समेत फैलिएको हुँदा समस्या निराकरणका लागि ‘मिटु’ जस्ता संस्था जन्मिए । नेपालमा मिटुको प्रभाव केही परेको भए पनि हाल निष्क्रिय देखिन्छ ।

०७५/७६ को प्रहरी प्रतिवेदनअनुसार जबर्जस्ती करणी तथा उद्योग, मानव बेचबिखन, गर्भपतन, बहुविवाह, बाल विवाह, बोक्सीको आरोप, छुवाछुत, बाल यौन दुव्र्यहारजस्ता दर्ता भएका मुद्दाको संख्या १९,२९४ थियो ।

महिलालाई पुरुषसरह अघि बढाउन संगठनात्मक व्यवस्थाको आवश्यकता महसुस गरी ०५२ साल असोज ६ गते महिला तथा समाजकल्याण मन्त्रालयको स्थापना भयो र त्यसैको परिवर्तित रूप अहिलेको महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय हो । जीवनस्तरमा सुधार ल्याई महिला हिंसारहित समाज सिर्जना गर्ने हेतुले यस मन्त्रालयअन्तर्गत राष्ट्रिय महिला आयोग, समाजकल्याण परिषद्, समाजकल्याण केन्द्र, वृद्धाश्रम र बाल मन्दिर छन् । यस मन्त्रालयले राष्ट्रियस्तरका संघसंस्थाबाट सञ्चालित कामको अनुगमन तथा मूल्यांकन गर्नुका साथै अन्तर्राष्ट्रिय संगठनसँग पनि सम्बन्ध कायम गर्छ । यसरी महिला विकाससम्बन्धी विभिन्न संरचना स्थापना भई आए पनि महिलाको अवस्थामा आसलाग्दो प्रगति भएको पाइँदैन । त्यसकारण महिलाउपर हत्या, हिंसा, बलात्कार, एसिड आक्रमण, यौनजन्य क्रियाकलाप आदि भइरहेका छन् ।

लैंगिक हिंसाविरुद्धको अभियान प्रत्येक वर्ष विश्वभरि नै नोभेम्बर २५ देखि डिसेम्बर १० सम्म विभिन्न कार्यक्रमसहित मनाइन्छ र नेपालले पनि मनाइरहेको छ । शिक्षा हासिल गर्ने इच्छा हुँदाहुँदै पनि आर्थिक अवस्थाले गर्दा कतिपय बालबालिका विद्यालय जानबाट वञ्चित हुन पुगेका छन् । अझै पनि छोरा र छोरीलाई हेर्ने दृष्टिकोण एउटै हुन सकेको छैन । धार्मिक रूपमा छोरीलाई पवित्र मानी आए पनि त्यसअनुरूप व्यवहार भएको छैन । रजस्वला नहुँदै विवाह गरी दिए पुण्य मिल्ने कुराले प्रश्रय पाइरहेको छ । बाल्य अवस्थामै विवाह गरिदिनाले चाँडै गर्भधारण र स्वास्थ्यमा प्रतिकूल असर परेको देखिएको छ । हाम्रा धार्मिक परम्परा पनि महिलामैत्री हुन सकेका छैनन् । महिलालाई सर्वसुलभ शिक्षा दिन सकियो भने निश्चय नै हिंसामा कमी आउन सक्नेछ ।

समाजमा चेतनाको पनि उत्तिकै भूमिका हुन्छ । चेतना भयो भने विवेकको विकास हुन जान्छ, परिणामस्वरूप समाजमा परिवर्तन आउन सक्छ । मानिसको दिमागले जसरी शरीरलाई निर्देशित गरेको हुन्छ त्यसरी नै चेतनाले समाजलाई परिवर्तन गर्न सक्छ ।

नेपाल पक्ष भएका जति नै क्षेत्रीय एवं अन्तर्राष्ट्रिय महासन्धि, सन्धि र अन्तर्राष्ट्रिय सभा सम्मेलन छन्, तिनीहरूको प्रावधानको परिपालन गरी महिलामा सकारात्मक परिवर्तन ल्याउनुपर्छ ।

नेपालको संविधानको धारा ३८ मा व्यवस्था गरिएको महिलाको हकलाई कसरी मूर्तरूप दिनेबारे सरकार र सम्बन्धित सरोकारवाला कटिबद्ध हुनुपर्छ । संविधानमा लेखिँदैमा सबै कुरा पूर्ण हुने होइन । मुख्य कुरो त्यसको कार्यान्वयन पक्ष हो ।

महिला हिंसाविरुद्ध सहयोग गर्ने मुख्य भूमिका पुरुषकै हुने गर्छ, कारण महिलाप्रति हिंसा पुरुषबाटै हुने गर्छ । अतः महिला पुरुषसरह हुन् र उनीहरूलाई पनि समान अवसर उपलब्ध गराउनुपर्छ भन्ने भावना पुरुष वर्गमा जगाउनुपर्छ ।

घर नै बालबालिकाको पाठशाला हो भनेर आमाबाबुलाई शिक्षा दिन सकियो भने निश्चय नै महिलाप्रति हेर्ने दृष्टिकोणमा परिवर्तन आउन सक्नेछ । महिला हिंसाविरुद्ध समाजमा जागरण एवं चेतनाको विकास गरिनुपर्छ ।

टिप्पणीहरू