पार्टी एकीकृत हुनुका पीडा

पार्टी एकीकृत हुनुका पीडा

नेपालका दुई ठूला कम्युनिष्ट पार्टीबीच निर्वाचन क्रममा भएको सहकार्य पार्टी एकतासम्म पुगेको छ । यद्यपि, कामहरू निकै ढिलोगरी भइरहेका छन् । पार्टी केन्द्रीय कमिटी जम्बो बनाइएको छ । अन्य कमिटीको अवस्था पनि यस्तै छ । पहिले कमिटी साना हुन्थे । बैठक नियमित बस्थे । नेतृत्व कमिटी पद्धतिमा विश्वास नगरेर व्यक्ति केन्द्रित भएका धेरै उदाहरण देख्न र सुन्न सकिन्छ । केन्द्रीय सदस्यमध्येबाट एउटा जिल्लामा करिब दर्जनसम्म सहइञ्चार्ज राखिएको छ । आखिर यस्तो किन त ? भाग पु¥याउन ? केन्द्रीय सदस्यलाई पालिकाको इञ्चार्ज बनाइदिएको भए यति धेरै दुःख हुने थिएन । पालिकाहरूले पनि केन्द्रीय नेतृत्वको जिम्मेवारी पाउने थिए । एमाले र माओवादी केन्द्रबीच एकता भए पनि मन मिलिरहेको छैन । पार्टी एकता कागजमा भएको छ, व्यवहारमा समस्या छन् ।

कृष्णबहादुर महरा प्रकरणमा पूर्वमाओवादीबाट जुन खालको प्रतिरक्षा गर्ने काम भयो त्यो काम पूर्वएमालेबाट हुन सकेन । एमालेका कतिपय कार्यकर्ताले महरालाई अपराधीजस्तै सामाजिक सञ्जालमा खेद्ने काम गरे । महराको दोष कति थियो ? यकिन भएकै थिएन । विपक्षीले जस्तै गरी चर्को रूपमा कुरा उठाइयो । महराको क्षेत्रकै मानिसले समेत बदनाम गर्नेगरी सामाजिक सञ्जाल रंग्याउन भ्याए । यो प्रकरणमा एमालेका कार्यकर्ता आक्रामकजस्तो देखिए भने माओवादी कार्यकर्ता रक्षात्मक । पछिल्लो पटक आएको सञ्चारमन्त्री गोकुल बाँस्कोटा प्रकरणको कुरा गर्ने हो भने त्यसमा समेत धेरै उछलकुद गर्ने काम भयो । गोकुल बाँस्कोटाले देशै लुट्ने अपराध गरेजस्तो विषयलाई चर्काइयो । गोकुलले सेक्युरिटी प्रेस खरिद गर्नेबारे गरेको कुराकानीमा कमिसनको कुरा झल्किएको थियो । गोकुलले कुरा गरेको निकै लामो समय बितिसकेको रहेछ । जब १६ महिनापछि टेप सार्वजनिक भयो, पूर्वमाओवादीलाई गजबको मसला मिल्यो । एमाले र माओवादीबीच एकता भए पनि भावनात्मक रूपमा मिलेको छैन भन्नका लागि माथिका दुई उदाहरण काफी छन् ।

विपरित मान्यता बोकेका पार्टीको एकता थियो । यद्यपि, सिद्धान्तका हिसाबले त्यति धेरै विमति थिएन । हतियारबाट सत्ता परिवर्तन सम्भव देख्ने माओवादी र शान्तिपूर्ण राजनीतिमा विश्वास राख्ने एमालेबीच सेवाको सिद्धान्त फरक होइन । त्यसै भएर एकता सम्भव भएको हो । तर, पार्टी एकता भएको दुई वर्ष बित्न थाल्दा पनि भावनात्मक रूपमा किन मिल्न सकिरहेको छैन ? जुन एकताका कारण मुलुकले राजनीतिक स्थिरता पाएको छ । जुन एकताका कारण जनतामा उत्साह पलाएको छ । जुन एकताका कारण नेपालमा विकास र समृद्धिको यात्रा अघि बढ्छ कि भन्ने आशा पलाएको छ । यस्तो अवस्थामा नेतृत्वले पार्टी एकतालाई मजबुत गराउनेतिर किन सोचिरहेको छैन ? नियमित बैठक, अन्तरक्रिया तथा भेटघाट गरियो भने मात्रै नेता कार्यकर्ताबीच अन्तरघुलन हुन सक्छ । केन्द्रमा सत्ता राजनीतिका कारण शीर्ष नेतृत्व निरन्तर संवादमा रहने गरेको थियो । यस्तो आवश्यकता नै पर्दैनथ्यो । प्रमुख जिल्ला अधिकारी र जिल्ला विकास समितिले बोलाउने सर्वदलीय बैठकबाहेक अन्यत्र भेटघाट कम हुन्थ्यो । प्रतिस्पर्धाको कुरा जहाँ बढी हुन्छ त्यहाँ सहकार्यको सम्भावना कम हुन्छ । यस्तै भएको थियो एमाले र माओवादीबीच । यतिवेला भावनात्मक रूपमा एकता हुन नसक्नुका पछिल्तिर विगतको मनोविज्ञानले काम गरिरहेको छ । यो मनोविज्ञानबाट माथि आउन कति समय लाग्छ भन्न सकिन्न ।

नेकपा गठन भएको दुई वर्ष बित्दा पनि पूर्वएमाले र पूर्वमाओवादीको तुष हटेको छैन । जसले गर्दा हरेक ठाउँमा समस्या देखिन्छ । कुनै स्थानमा निर्वाचन हुँदा देखिने भागवण्डाको राजनीति होस् या बैठकमा हुने प्रस्तुति हेर्दा लाग्छ कि नेकपाका नेता–कार्यकर्ताले एकतालाई महत्वपूर्ण विषय बनाउन चाहिरहेका छैनन् । नेपालमा राजनीतिक क्रान्ति भएको कुरालाई हामी इतिहासकै महत्वपूर्ण र दुर्लभ घटनाका रूपमा लिन्छौं । यस्तै माओवादी र एमालेबीचको एकता पनि सानो घटना होइन । माओवादीले हतियारको राजनीति त्यागेर शान्तिपूर्ण प्रतिस्पर्धामा आउनु आफैंमा महत्वपूर्ण थियो । यस्तै एमालेसँँग एकता गरेर जानु अर्को महत्वपूर्ण घटना हो । एकता हुनुपहिले नै निर्वाचनमा गएकाहरूले चुनाव चिह्नसमेत आ–आफ्नो प्रयोग गरेका थिए । एकता हुन्छ भन्ने आमजनताको विश्वास थियो । त्यसैले गर्दा जनताले एकता नहुँदै पनि दुवै पार्टीलाई छानीछानी मतदान गरेका थिए ।

तर उपनिर्वाचनमा कतिपय राम्रा भनिएका स्थानमा पराजय भोग्नुप¥यो । विभिन्न विद्यालय व्यवस्थापन समितिका निर्वाचनमा यस्तो समस्या देखिए । एकले अर्कोलाई सघाउने भन्दा पनि सक्ने खालको स्थिति आइपरे ।

यतिवेला केन्द्रीय कमिटीले थालेको तीनमहिने अभियान कार्यान्वयनको चरणमा छ । क्रममा मन माझ्ने कुरा सबैभन्दा बढी हुनुपर्छ । आलोचना गर्नुछ भने कमिटीका बैठकमा गर्ने नियम बनाउनुपर्छ । सामाजिक सञ्जालमा जे मन लाग्यो त्यही लेख्ने कुरालाई व्यक्तिको स्वतन्त्रताको रूपमा व्याख्या गर्नु राम्रो होइन । व्यक्ति स्वतन्त्र छ । हरेक नेपाली स्वतन्त्र छ तर नेपालीलाई धेरै स्वच्छन्दता पनि छ । अहिले सामाजिक सञ्जालमा देखिएको विकृति रोक्न सकिएन भने जो व्यक्ति जतिवेला पनि शिकार हुन सक्छ । आफ्नै नेतालाई आक्रमण गर्ने जुन चलन बढ्दै गएको छ । यसले कतै पु¥याउँदैन समस्यामा मात्रै पार्छ । नेकपाका नेता आफैंले आचारसंहिता तयार गर्ने तर त्यसलाई उल्लंघन गर्ने काम गरिरहेका छन् । यसकारणले गर्दा नेकपाको एकतालाई गम्भीरता साथ लिनुपर्छ र जनतालाई सकारात्मक सन्देश दिने काम गर्नुपर्छ । नेपाली जनताले चाहेको भनेको राजनीतिक स्थिरता हो । समृद्धि हो । विकास हो । यो कुरामा राजनीतिक नेतृत्वले ध्यान दिनै पर्छ ।

टिप्पणीहरू