पोखरा–जोमसोम रुटमा यसअघि चार ठूला दुर्घटना
हिजो बिहान १० बजेर ७ मिनेटको समयदेखि तारा एअरको विमान सम्पर्कविहीन भयो । मौसम खराबीका कारण अबेर साँझसम्म हराएको विमान नभेटिएपछि खोजी कार्य स्थगित गरियो ।
आज बिहानैदेखि खोजतलास गर्दा जहाज दुर्घटनाग्रस्त अवस्थामा भेटियो । त्यसपछि चालक दलका तीन जनासहित १९ जना यात्रु सबैको मृत्यु भएको खबर आयो ।
यो रुटमा भएको जहाज दुर्घटना हिजोको पहिलो भने होइन । आजभन्दा सात वर्षअघि १२ फागुन २०७२ तारा एयरकै विमान दुर्घटना भएको थियो । म्याग्दीमा भएको उक्त दुर्घटनामा २३ जनाको ज्यान गएको थियो ।
१ जेठ २०६९ मा अग्नि एयरको विमान जोमसोममा दुर्घटना भयो । विमानस्थल नजिकै पानी ट्याङ्कीमा दुर्घटना हुँदा १५ जनाले ज्यान गुमाएका थिए । २०५६ सालमा पनि जोमसोम रुटमै पर्ने म्याग्दीको नारच्याङमा लुम्बिनी एअरको विमान दुर्घटना हुँदा चालक दलसहित १८ जनाको ज्यान गएको थियो ।
३ भदौ २०५९ मा जोमसोमबाट पोखरा फर्किएको सांग्रिला एयरको विमान पोखरामा दुर्घटना भयो । त्यो बेलामा १८ जनाको मृत्यु भएको थियो । २०७३ भदौमा तारा एयरकै जहाज धावनमार्गबाट चिप्लिएर कालीगण्डकीमा खस्यो । तर, मानवीय क्षति भएको थिएन ।
गण्डकी क्षेत्रमा दुर्घटना भएका घटना अरु पनि छन् । वि.सं.२०१९ मा बागलुङको ढोरपाटनमा नेपाल वायुसेवा निगमको जहाज दुर्घटना हुँदा १० जनाले ज्यान गुमाउनु पर्यो । सोही वर्ष नेपाल वायुसेवा निगमकै अर्को जहाज ढोरपाटनमै दुर्घटना भयो । त्यतिबेला ६ जनाको मृत्यु भएको थियो ।
आठ वर्षपछि २०२७ सालमा रोयल लाइट जोमसोममा दुर्घटना हुँदा एक जनाले ज्यान गुमाए । १८ वर्षअघि २०६२ सालमा यति एयरलाइन्सको विमान लमजुङमा दुर्घटना हुँदा तीन जनाको ज्यान गएको थियो ।
टिप्पणीहरू