आफ्नै वर्चश्व रहेको काठमाडौँ जिल्ला अदालतमा काँग्रेस एक्लै भिड्ने

आफ्नै वर्चश्व रहेको काठमाडौँ जिल्ला अदालतमा काँग्रेस एक्लै भिड्ने

नेपाल बार एशोसिएशनको निर्वाचनमा सत्ता गठबन्धनका पाँच दलनिकट कानुन व्यवसायीहरुको संगठन मिलेर ‘क्लिनस्विप’ गरेका वकिलहरू तितरबितर हुन थालेका छन् । केन्द्रीय बारमा मिलेर लडेका उनीहरु तल्ला इकाईहरुमा आ–आफ्नै अनुकूलताअनुसार गठबन्धन गर्न थालेपछि सहकार्य भाँडिएको हो ।

आफू बलियो भएका ठाउँमा गठबन्धन नगर्ने स्वार्थी प्रवृत्ति हावी भएकाले प्रतिनिधिसभा विघटनदेखि सर्वोच्चको आन्दोलनसम्म एकै ठाउँमा रहेका वकिलहरू विभाजित भएका हुन् । यसैबीच काठमाडौँ जिल्ला अदालत बार एशोसियशनको निर्वाचनमा काँग्रेसको नेपाल डेमोक्रेटिक लयर्स एसोसिएसन (डिएलए) ले एक्लै उम्मेदवारी दिएको छ ।

१७ सदस्यीय कार्यसमितिमा डिएलएका तर्फबाट सबै पदमा एकल उम्मेदवारी परेको हो । अधिवक्ता रामचन्द्र पौडेलको नेतृत्वमा चुनावमा जान लागेको डिएलएले उपाध्यक्षमा पुरुषोत्तम अधिकारी र सचिवमा उज्ज्वलराम श्रेष्ठलाई उम्मेदवार उठाएको छ । त्यस्तै, सहसचिवमा अञ्जु रेग्मी अर्याल र कोषाध्यक्षमा सन्तोष भण्डारीको उम्मेवारी परेको छ ।

नयाँ नेतृत्व चयनका लागि भोलि बबरमहलस्थित काठमाडौँ जिल्ला अदालत परिसरमा बिहान ८ बजेदेखि दिउँसो ४ बजेसम्म मतदान हुँदैछ ।

डेमोक्रेटिकहरुको बर्चश्व रहेको काठमाडौँ जिल्ला अदालत बारमा वामपन्थीहरु तुलनात्मक रुपमा कमजोर छन् । त्यहाँ वामपन्थीहरु सबै एकजुट हुँदा पनि डिएलएका उम्मेदवारले सजिलै जित्ने दाबी गरिएको छ । सोही कारण काँग्रेस गठबन्धनको निम्ति इच्छुक नदेखिएको हो ।यसअघि पाटन उच्च अदालत बारको चुनावमा गठबन्धन दल एकीकृत समाजवादी संबद्ध वकिलहरुको संगठन एसपिएलएले एमालेको पिपिएलएसँग तालमेल गरेको थियो ।

टिप्पणीहरू