रोल्पामा पत्रिका निकाल्दा समातेर जेल
राप्ती अञ्चलमा पर्ने रोल्पा जिल्ला २०३७ सालमा कटफट गरी ५१ गाविस कायम भएको हो । उतिबेला शिक्षा मन्त्रालयले रेडियोबाट बिलेभल, दूरशिक्षाजस्ता तालिम दिने गथ्र्याे । सो तालिम लिएपछि बल्ल शिक्षकहरू स्थायी हुन्थे । यो तालिम नेपालगञ्जमा दिइन्थ्यो ।
सञ्चार क्षेत्रबाट वञ्चित रोल्पा जिल्लामा ०३३ साल जेठ २५ गते राष्ट्रिय विकास समूहको टिम आइपुग्यो, जसमा संलग्न सुमन श्रेष्ठ, रामहरि शर्मा, विप्लव कटुवाललगायतले नारायणप्रसाद सुवेदीको सम्पादकत्वमा कुलानन्द गिरीसहित भएर सुनछहरी त्रैमासिक निकाले । व्यवस्थापक मुख्यनाथ तिवारी रहेको टिमले भारतको बनारस गई १ हजार प्रति पत्रिका छापेर रोल्पा ल्याइपु¥याएको हो ।
यसो गर्दा मुख्यनाथ तिवारी र प्रजिअ ललितबहादुर बमबीच टकरावसमेत भएको थियो । ललितबहादुर बम एमए पास गरेको घमण्ड गर्थे । पत्रिका लिवाङ ल्याएपछि प्रजिअले जफत गरी जिल्ला प्रहरी कार्यालय रोल्पामा डम्प गरिदिएका थिए । सम्पादकीय लेखेको भन्दै सुमन श्रेष्ठ, रामहरि शर्मा र विप्लव कटुवाललाई हिरासतमा राखी तुल्सीपुर जेलचलान गरियो ।
गोरखापत्र, द राइजिङ नेपालजस्ता पत्रिका हुलाकमार्फत आउँथे । निकै लामो समयपछि आइपुग्थे र सरकारी कार्यालयको पहुँचमा हुन्थे । कतिपय समयमा त रोल्पा जाने चिठी पत्र डोल्पा र डोल्पा जाने चिठीपत्र रोल्पा आउने गर्थे । यसपछि बालकल्याण मावि लिवाङका शिक्षक नारायणप्रसाद सुवेदी, कुलानन्द गिरी र बालकल्याण माविमा पढ्ने एक विद्यार्थीसमेतको टिम मिलेर कल्याण नामक पत्रिका १ अंक मात्रै प्रकाशित भयो भने ०४४ सालमा कर्मचारी मिलन केन्द्रबाट प्रकाशित जलजला नामक स्मारिका देख्न पाइयो ।
काशीराम डाँगीको सम्पादकत्वमा २०६३ साल कात्तिक १३ गते पहिलो अंकसहित रोल्पा आवाज नाम पाक्षिक पत्रिका प्रकाशन भयो । रेडियो रोल्पा सञ्चालनपछि भने सो पत्रिका बन्द छ । ०६३ कात्तिक २७ गते विपिन कुँवरको प्रकाशकत्वमा रोल्पा समाचार साप्ताहिक प्रकाशनमा आयो । हाल मानसिंह बिकले सो पत्रिका चलाइरहनुभएको छ । ०६८ साल भदौ ८ गते जलजला पोष्ट साप्ताहिक दीपेश पराई विष्टले प्रकाशन गर्नुभयो ।
०६८ पुसमा जूनकिरी सञ्चार साप्ताहिक प्रकाशन भयो । कविता उपाध्याय प्रकाशक रहनुभएको उक्त पत्रिका निरन्तर प्रकाशित भइरहेको छ । ०६९ साल जेठ १२ गतेबाट रोल्पा टाइम्स दैनिक प्रकाशनमा आयो । रोल्पाको सञ्चार क्षेत्रमा यो नै पहिलो दैनिक पत्रिका हो । तथापि, यसको आयु पनि लामो रहन सकेन । सो पत्रिकाको सम्पादक वाईबी मगर र प्रकाशक एलबी मगर हुनुहुन्थ्यो ।
०६९ साल फागुन २१ देखि सनस्टार साप्ताहिक प्रकाशन भयो । हाल सम्पादक नवीन लोचन मगर रहनुभएको छ । ०७० साल असार १४ गतेबाट रोल्पा खबर साप्ताहिक देखा प¥यो । ०७१ साल वैशाख २८ मा जनआकांक्षा साप्ताहिक प्रकाशनमा आयो । महिलाले सञ्चालन गरेको सो पत्रिकाको सम्पादक हस्तमाली बाँठा मगर रहनुभएको छ । ०७१ साल साउन २१ मा जन्मभूमि साप्ताहिक प्रकाशित भयो । यस पत्रिकाको सम्पादक कृष्ण डिसी हुनुहुन्थ्यो ।
०७१ साउन २६ मा सुनछहरी साप्ताहिक प्रकाशनमा आयो । उक्त पत्रिकाको सम्पादक महेश न्यौपाने हो । ०७२ जेठ २३ मा निस्केको जनअपेक्षा साप्ताहिकको सम्पादक समीप वली हुनुहुन्छ । २०७३ सालबाट निस्कन थालेको चतुरभुज साप्ताहिकको सम्पादक भरत नेपाली हो भने सोही वर्ष सन्तोष शर्मा कार्यकारी सम्पादक रहने गरी होलेरी साप्ताहिक प्रकाशनमा आएको थियो ।
जिल्ला प्रशासन कार्यालय रोल्पामा १ दर्जन बढी पत्रिका दर्ता छन् तर हाल आधा दर्जन पनि नियमित प्रकाशनमा छैनन् । रोल्पा समाचार, जूनकिरी सञ्चार, सन स्टार र जनआकांक्षा साप्ताहिक प्रेस काउन्सिलको स्थानीय ख वर्गमा वर्गीकरणमा परेका छन् । यसैगरी रेडियो रोल्पा, रेडियो जलजला, रेडियो सुनछहरी, रेडियो होलेरी, रेडियो मालश्री, रेडियो माडी आवाज, रेडियो पल्लवी, रेडियो सूर्यमुखी, रेडियो सभ्यता गरेर ९ वटा सामुदायिक र २ वटा व्यावसायिक गरी ९ वटा एफएम रेडियो जिल्लामा सञ्चालित छन् । रेडियो होलेरी र रेडियो सभ्यता व्यावसायिक रेडियो हुन् भने अरु सबै सामुदायिक ।
टिप्पणीहरू