युवालाई देशमै रोक्ने भन्ने,विदेश पनि पठाउने !

युवालाई देशमै रोक्ने भन्ने,विदेश पनि पठाउने !

जेनजीको माग स्वरोजगारी कि वैदेशिक रोजगारी ? वर्तमान सरकारको पछिल्लो निर्णयले प्रश्न उठेको छ । एकातिर ‘देशमै बस्न पाउनुपर्छ’ भन्दै युवा पुस्ताको आन्दोलन,अर्कोतिर त्यसैको जगमा बनेको सरकारले सित्तैमा ‘वैदेशिक रोजगारी’ मा पठाउन उत्प्रेरित गर्ने निर्णयपछि जेनजी आन्दोलन केका लागि ? भन्नेमै अन्यौल सिर्जना भएको छ । 

गत भदौ २३ गतेको नरसंहार र २४ गतेको विध्वंश अझै ताजै छ । ७६ जनाको ज्यान जानेगरी भएको आन्दोलनमा मुलुकका ऐतिहासिक सम्पदाहरुमा आगो झोसियो । खर्बौको सरकारी संरचना र निजी सम्पत्ति खरानी बनाइयो । आन्दोलनको नाममा आफ्ना कलिला छोराछोरी गुमाएका आमाबुबा र अंगभंग भएकाहरु न्यायको पर्खाइसँगै अब ‘नयाँ नेपाल’ बन्ने आशा गरेर बसेका छन् । 

विडम्बना,त्यही आन्दोलन र बलिदानको बलमा बनेको वर्तमान सुशीला कार्की नेतृत्वको सरकारमा भने पुरानै सरकारको प्रवृत्ति देखिन थालेको छ । मुलुकभित्रै युवालाई रोजगारी र भविष्यको प्रत्याभूति गर्ने उद्घोषसहित युवा पुस्ताको समर्थनमा गठित कार्की सरकार अहिले एकाएक विदेश पठाउने योजनामा सक्रिय भएको छ । 

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले जेनजी आन्दोलनका क्रममा मृत्यु भएका र घाइतेका परिवार तथा नातेदारलाई निःशुल्क वैदेशिक रोजगारीमा पठाउने तयारी गरेको छ । यसरी सरकार गठनअघिसम्म ‘युवालाई देशमै बस्ने वातावरण बनाउनुपर्छ’ भन्दै नारा लगाउने समूह सत्तामा पुगेपछि भने विदेश पठाउने योजनामा केन्द्रित हुनुले जेनजी आन्दोलनकै मर्म र औचित्यमाथि प्रश्न उब्जाएको छ । 

आन्दोलनका बेला जेनजीहरुको प्रमुख माग मुलुकमा बढ्दो भ्रष्टाचार र कुशासनको अन्त्य तथा युवालाई देशमै बस्ने वातावरण बनाउनुपर्ने थियो । यद्यपि, वर्तमान सरकार मुलुकभित्रै रोजगारी सिर्जना गर्नतर्फ भन्दा पनि वैदेशिक रोजगारीमा केन्द्रीत देखिएको छ । अर्कोतर्फ, ‘सुशासन’ बसाल्न बनेको सरकार आफैं ‘कुशासन’ को नाममा हिँडिरहेको अवस्था छ । 

सरकारका एकपछि अर्को निर्णय विवादित बनिरहेका छन् । चुनावी प्रयोजनका निम्ति गठित सरकार राजदूत फिर्ता बोलाउने, क्याबिनेटमा विवादास्पद छविका व्यक्तिलाई राख्ने, सचिवालयमा आफन्त भर्ति गर्ने, सम्पत्ति लुकाउने, आन्दोलनका नाममा भएका फौजदारी अपराधमा संलग्नलाई उन्मुक्ति दिने, डिम्ब तस्करीमा संलग्न महान्यायाधिवक्ताबारे मौन रहनेजस्ता गतिविधिले जेनजी आन्दोलनकै बदनाम हुन पुगेको छ । 

नागरिकस्तरबाट चर्को आलोचना

बढ्दो भ्रष्टाचारसँगै वैदेशिक रोजगारीका कारण देश रित्तो हुँदै गएपछि ‘देशमै बस्न पाउनुपर्छ’ भन्दै भएको आन्दोलनबाट बनेकै सरकार युवालाई विदेश पठाउन सक्रिय भएपछि नागरिकस्तरबाट चर्को आलोचना हुन थालेको छ । सरकारको यो निर्णयको सामाजिक सञ्जालदेखि सार्वजनिक स्थलसम्म विरोध भइरहेको छ । 

‘विदेश नै पठाउनु थियो भने किन यत्रो जनता उचालेर आन्दोलन गर्न लगाएको ? कठै यसैको लागि कलिला भाइ बहिनीहरुको हत्या हुनुपरेको ?,’ सिता गुरुङ भन्छिन् । ‘फ्रि विदेश जानलाई गरिएको थियो र आन्दोलन अनि ७६ जनाको बलिदान ?,’ मिलन बमले सामाजिक सञ्जालमा लेखेका छन्। 

‘देशमै रोजगारी मिलोस्, स्थायी सरकार होस् र विदेश जान नपरोस् भनेर हाम्रा युवाहरुले आन्दोलन गरे । तर, आन्दोलनको बलमा बनेको सरकारले पुरानै रुप धारण गरेको प्रष्ट भएको छ,’ शुभराज मुलिचाको ठहर छ । ‘युवा बेच्ने, तिनको रेमिट्यान्स घिचेर आफू पालिने नेपाली सरकार,’ आशिष भण्डारीले भनेका छन् । 

‘अन्तिममा विदेश नै पठाउनु रहेछ,’ सुजन पाण्डेको दुःखेसो छ । ‘नेताको आसेपासेको जागिर खोस्न नसक्ने अनि तिमीहरुलाई सत्तामा पुर्याउनलाई स्वदेशमा बस्न नदिने ? आखिर आफ्नै देशमा पनि बाँठाटाँठा मात्र बस्न पाउने रहेछन्,’ सामाजिक सञ्जालमा भेटिएको छ ।  

‘यो राहत हो कि अर्को अपमान ? युवा विदेशिनु नपरोस्, देशमै पसिना बगाएर बाँच्न पाइयोस्, भविष्य यही माटोमा बनोस् भनेर जेनजी सडकमा उत्रिएका थिए । के ती युवा विदेश जान मरेका थिए ? कि आफ्नै देशमा गरिखान पाउँ भनेर रगत बगाएका थिए,’ सुशिल बुढाथोकी भन्छन्, ‘अब विदेशको टिकट होइन, देशभित्र न्याय, रोजगारी र भविष्य चाहियो ।’

‘७६ जना युवाको बलिदानको पुरस्कार विदेश पलायन हो ? के जेनजी आन्दोलनको निष्कर्ष देश छोड्न सजिलो बनाउने मात्र हो ? के यो निर्णयले आन्दोलनको भावना र बलिदानको अपमान गरेको छैन ?,’ रमेश सिलवालले प्रश्न गर्दै भनेका छन्, ‘जेनजी आन्दोलन वैदेशिक रोजगारीमा जान भएको थिएन, देशमै भविष्य खोज्ने विद्रोह थियो ।’

आदर्श क्षेत्री भन्छन्, ‘त्यत्रो युवाको बलिदान परिवर्तनको लागि थियो कि विदेश धकेल्न ? उनीहरुले पासपोर्ट र भिसाको लागि रगत बगाएका थिए ? शहिदको रगतले बनेको सरकार आज विदेश पठाउने योजनामा सीमित हुनु लाजमर्दो मात्र होइन, जेनजी आन्दोलनकै अपमान हो ।’

जेनजी भन्छन्–आशाभन्दा निराशा छायो

जेनजी आन्दोलनका प्रतिनिधि प्रवेश दाहाल सरकारका गतिविधि र निर्णयले युवामा आशाभन्दा निराशा बढाएको बताउँछन् । जेनजी आन्दोलन युवालाई देशभित्रै रोक्न भएको तर सरकारले अहिले उल्टै निःशुल्क वैदेशिक रोजगारीमा पठाउने निर्णय गर्दा आन्दोलनकै अपमान भएको उनको ठम्याई छ । 

‘पुराना दलहरुले केही गरेनन्, युवा विदेशिनुपर्यो, भ्रष्टाचार मौलायो भनेर हामी युवा सडकमा ओर्लिएका थियौं । तर, हाम्रो आन्दोलनको बलमा बनेको वर्तमान सरकारले जेनजी आन्दोलन के का लागि भएको थियो भन्ने कुरा नै बिर्सिएकोजस्तो हामीलाई महसुस हुन थालेको छ । नभए आन्दोलनकै अपमान हुनेगरी यस्ता काम गर्ने थिएन । सरकारका यस्ता निर्णयले युवालाई झनै निराश बनाइरहेको छ,’ उनले भने । 

इच्छाबमोजिम हुन्छः मन्त्रालय 

जेनजी आन्दोलनका क्रममा घाइते भएका र मृतकका परिवारलाई निःशुल्क वैदेशिक रोजगारीमा पठाउन गृहकार्य भइरहेको श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले बताएको छ । मन्त्रालयका सहसचिव एवं प्रवक्ता पिताम्बर घिमिरेका अनुसार उनीहरुको इच्छाबमोजिम निःशुल्क वैदेशिक रोजगारीमा पठाइनेछ । 

‘को–को रोजगारीका लागि विदेश जान चाहनुहुन्छ, उहाँहरुलाई सरकारले निःशुल्क पठाउनेछ । त्यसका लागि मन्त्रालयले सहजीकरण गर्नेछ । हामीले गृहकार्य थालिसकेका छौं,’ उनले भने । नेपालीलाई वैदेशिक रोजगारीका लागि खुला रहेका देशमध्ये जान चाहने मुलुक पठाइने प्रवक्ता घिमिरेको भनाइ छ । 

त्यस्तै, वैदेशिक रोजगारीमा जान नचाहनेलाई आन्तरिक रोजगारीमा जोड्ने पनि उनले बताए । मन्त्रालयका अनुसार यसका लागि निजी क्षेत्रसँग छलफल भइरहेको छ । ‘विदेश जान चाहनेलाई विदेश र देशभित्रै रोजगारी गर्न चाहनेलाई मातहतका तालिम संघसंस्था वा निजी संस्थामा जोड्ने योजना छ । सोहीअनुरुप काम भइरहेको छ,’ घिमिरेले भने ।

टिप्पणीहरू