‘ह्याट्रिक’ पछि झन् आक्रामक

‘ह्याट्रिक’ पछि झन् आक्रामक

नेकपा (एमाले)को ११औँ राष्ट्रिय महाधिवेशनबाट तेस्रो पटक अध्यक्ष निर्वाचित केपी शर्मा ओलीले चर्को धारणा राखेका छन् । नेतृत्व पुस्तान्तरण र हस्तान्तरणको बहस चलिरहेको बेला बहुमतले पार्टी अध्यक्षमा निर्वाचित ओलीले हिजो साँझ एक टेलिभिजन अन्तर्वार्तामा चेतावनीपूर्ण शैलीमा आफ्ना धारणा राखेका हुन् ।

पहिलो, भदौ २३ र २४ गतेको घटनामाथि छानविन गर्न सुशीला कार्की नेतृत्वको सरकारले गठन गरेको जाँझबुझ आयोगसमक्ष ओलीले बयान नदिने बताएका छन् । ‘म कुनै पनि हालतमा बयान दिन जान्नँ’, उनले भने, ‘बरु गोली ठोके हुन्छ, उहाँहरुसँग छ त प्रशस्त हतियार !’ उक्त अभिव्यक्तिसँगै यतिबेला सामाजिक सञ्जालमा ओली थप ‘तानाशाह’ बन्ने मार्गमा अघि बढेको विश्लेषण समेत हुन थालेको छ । 

पूर्व प्रधानमन्त्री समेत रहेका उनले सरकारले तोकेको स्थानहद नमान्ने पनि बताएका छन् । ‘जतिबेला मलाई आवश्यक पर्छ, म भ्याली बाहिर जान्छु, रोकेर देखाउन् न, मेरो संवैधानिक अधिकार प्रयोग गर्न मैले असंवैधानिक सरकारसँग सोध्नुपर्ने ?’, उनले थपे । 

दोस्रो, अध्यक्ष ओलीले आगामी निर्वाचनमा एमाले र कांग्रेसले गठबन्धन गरेमा धेरै ठाउँमा ‘क्लिन स्विप’ गर्ने दावी गरे । पुराना दलहरुलाई ‘वल्र्ड इज गोल्ड’ भन्दै उनले नयाँ दलहरु दशौँ÷बाह्रौँ स्थानमा आउने जिकिर समेत गरे । ‘एमाले छ, कांग्रेस छ, नेकपा छ, यिनी पार्टी नै पहिलो, दोस्रो र तेस्रो हुन्, बढी कुरा आवश्यक नै छैन’, उनको दावी छ, ‘अरु पार्टी छैनन् र भन्या ? मैले नाम पो लिएन ! रवि, बालेन जो मिले पनि दशौँ नम्बरपछि आउँछन्।’

तेस्रो, रास्वपा सभापति रवि लामिछानेसँग कसरी दुश्मनी सुरु भयो भन्नेमा आफैं अनविज्ञ रहेको ओलीको तर्क छ । लामिछानेलाई सञ्चार क्षेत्रमा स्थापित गर्न आफैले सघाएको तर अहिले दुश्मनी सिर्जना भएको उनले बताए । ‘मैले रवि लामिछानेलाई गुण लगाएको थिएँ, तर उनैले मसँग अनावश्यक दुश्मनी गरे, किन गरे ? आजसम्म थाहा छैन, भेटे भने सोध्छु’, उनको भनाई थियो । 

चौथो, अध्यक्ष ओलीले फागुन २१ मा चुनाव नहुनेमा ढुक्क पनि देखिए । सर्वोच्चले संसद पुनःस्थापना गर्नेमा उनी विश्वस्त सुनिएका छन् ।

टिप्पणीहरू