जंगीअड्डामा संयन्त्र जाग्यो
शाही शासनकालमा देशभरको सूचना दैनिक संकलन गर्ने र साँझ दरबारमा बुझाउने जस्तै संयन्त्र जेनजी सरकारले फेरि ब्युँताएको छ । एकीकृत सूचना संकलन कार्यलाई भदौ २३ र २४ गतेको जेनजी प्रदर्शनपछि नेपाली सेनाले निरन्तरता दिएको छ । राजाको पालामा त यस्ता रिपोर्ट पढ्न विशेष जाहेरी विभाग नै थियो ।
गणतन्त्रात्मक व्यवस्थामा राष्ट्रिय अनुसन्धान विभागले त्यो काम गर्दै आएको छ । विभागले दिनभरि खबर संकलन गरेर बेलुका सरकारसमक्ष रिपोर्ट बुझाउँछ । त्यस्तै, प्रहरीले गृह मन्त्रालयलाई रिपोर्टिङ गर्छ । त्यसका बाबजुद भदौ २३ र २४ गते अनपेक्षित घटना भएपछि सेना आफैं एकीकृत खबर संकलनमा लागेको हो । उक्त कार्यका लागि सेनाले छुट्टै अफिससमेत गठन गरेको छ । जसमा कर्णेल, सशस्त्र र अनुसन्धान विभागका अधिकारी छन् ।
स्रोतका अनुसार अफिस समयपछि बेलुका जंगी अड्डामा सशस्त्रबाट एसपी दलबहादुर पाण्डे जाने गरेका छन् । उनीहरू दिनभरका घटनाको विषयमा छलफल गर्छन् र विवरण प्रधानमन्त्रीसमेत रहेकी रक्षामन्त्री सुशीला कार्कीसमक्ष बुझाउँछन् ।
सूचना संकलनका लागि सरकारले स्थायी संरचना निर्माण गर्नुपर्ने एक प्रहरी अधिकृत बताउँछन् । आफूलाई चाहिने बेला जन्माउने र त्यसपछि रद्द गर्ने प्रवृत्तिले सूचना संकलनको काम प्रभावकारी हुन नसकेको कतिपयको भनाइ छ । ‘दरबारकाल होस् या जेनजी सरकार, सूचना सबैलाई चाहिन्छ । अनि चाहिएको बेलामा बनाउने, फेरि विघटन गर्ने काम ठीक भएन । स्थायी संरचना भयो भने त्यसले निर्वाध रूपमा काम गरिरहन सक्छ । बरु त्यसमा तालिमप्राप्त अधिकारी राख्दा भयो’, उनले भने ।
राजतन्त्र हटेपछि जाहेरी विभाग खारेज गरिए पनि सेनाले विशेष तालिमप्राप्त अधिकृतमार्फत क्रिटिकल एनलाइसिस भने गर्दै आएको थियो । तर, माओवादी द्वन्द्वकालमा जस्तो अफिस नै स्थापना गरेर सूचना संकलनको काम भने हुने गरेको थिएन । प्रश्नचाहिँ अब सो कार्यालय कतिञ्जेल टिक्ला ? भन्ने हो ।
तत्कालीन प्रधानमन्त्री केपी ओलीले गुप्तचर विभागलाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमातहत ल्याएर आफ्नो स्वार्थको खबर मात्र संकलन गराउँथे । अनुसन्धान अधिकृतहरू नेताको सूचना संकलनमा मात्र केन्द्रित हुँदा जेनजीले बनाएको योजनाको सुइँको नै पाएनन् । कार्की नेतृत्वको सरकारले सो विभागलाई गृहमातहत फर्काइसकेको छ ।
रोकियो कूटनीति सञ्चार
जेनजी प्रदर्शनपछि सैन्य कूटनीति ठप्पजस्तै भएको छ । पूर्वसेनापतिहरूले सैन्य कूटनीतिमार्फत नाकाबन्दी हटाउनेलगायतका महत्वपूर्ण काम गर्दा अशोकराज सिग्देल भने मौनजस्तै देखिन्छन् । स्रोतका अनुसार उनको अमेरिका, बंगलादेश र बेलायत यात्रा हाल स्थगित छ ।
सरकारको मेकानिज्मले काम गर्न नसक्दा सेना अगाडि आउनुपर्नेमा सेनापति नै सुस्ताएको उनीहरू बताउँछन् । तालिम जारी रहँदा सेनापतिले भ्रमण रोक्नुपर्ने कारण नै नभएको स्रोत बताउँछ । चिनियाँ सैनिकहरूले केही समयअगाडि सैन्य अभ्यास गरेका थिए । त्यस्तै, भारतको पिथौरागढमा नेपाली र भारतीय सेनाको संयुक्त तालिम ‘सूर्यकिरण’ भर्खँरै सम्पन्न भएको छ ।
स्रोतले असन्तुष्टि पोख्दै भन्यो, ‘चिफसाब जेनजी आन्दोलनपछि कतै जानुभएको छैन । अनि कसरी सैन्य कूटनीति बलियो हुन्छ ? उहाँ त प्रधानमन्त्रीलाई कन्भिन्स गरेर कूटनीति बलियो बनाउनतिर लाग्नुपर्ने हो । फेरि रक्षामन्त्री पनि स्वयं प्रधानमन्त्री हुनुहुन्छ ।’संयुक्त राष्ट्रसंघले गम्भीर वित्तीय संकटका कारण शान्ति मिसनमा ठूलो कटौती गरेको छ । त्यसबाट नेपाल सबैभन्दा बढी प्रभावित बनेको छ । युएनले एकातिर २५ प्रतिशत कटौती गर्दा अर्कोतिर नेपालका तीन तारे जर्नेललाई कमाण्डर नियुक्त गरेको छ । गोरखाका गणेश श्रेष्ठ साउथ सुडानको बोर्डरमा तैनाथ भएका छन् । सानो मिसन भए पनि ठूलो ओहोदामा नियुक्त हुनु राष्ट्रका लागि गौरवको विषय भएको स्रोतको भनाइ छ ।
सेनाले असोज ३१ गते तीन उच्च अधिकृतलाई नियन्त्रणमा लिएको थियो । सिंहदरबारस्थित नरसिंह दलका गणपति प्रमुख सेनानी (लेफ्टिनेण्ट कर्णेल) गणेश खड्का, भवानीबक्स गण, सिन्धुलीका तेजेन्द्र मगर र धनगढीस्थित सैनिक स्कूल, तेघरी व्यारेकका शिव भडेललाई सरुवा गरिएको सर्कुलर निकालेर सेनाले हिरासतमा राखेको हो ।
जेनजी प्रदर्शनको घटनाबारे सोधपुछका लागि हिरासतमा राखिएकोमा कुनै कारबाहीबिना छोडिएको भएतापनि त्यसले करियरमा नराम्रो धक्का लागेको सैनिक स्रोत बताउँछ । स्रोत भन्छ, ‘ठूलो कारबाही त भएन तर करियरमा चाँहि ब्रेक लागेको छ ।’यसबीच, राष्ट्रिय अनुसन्धान विभागले २२ इन्स्पेक्टरलाई डिएसपीमा बढुवा गर्यो । जसमध्ये एक लोकराज जोशी पनि थिए । तत्कालीन नेतृत्वलाई कोशेली बुझाउँछु भनेर बढुवा भएका लोकराजले बोली पु¥याएनन् । त्यसपछि सरुवा गरिएको ठाउँमा उनी जान मानेनन् । नगएपछि विभागले स्पष्टीकरण सोध्यो ।
उनले ‘पैसा मागेको थियो तर दिइन, त्यसैले मलाई सरुवा गरिएको हो’ भनेर विभागमा जवाफ पठाएका छन् । सो विषयमा अनुसन्धान भइरहेको छ भने एअरपोर्टमा खटिएका उनलाई विभागले हाल सरुवा गरेर संकलनमा ल्याएको बुझिएको छ ।
(जनआस्था साप्ताहिकको पुस २ गते बुधबारको अंकमा प्रकाशित)
टिप्पणीहरू