सडक व्यापार श्रमिक संगठनकी नेतृलाई सम्मान

सडक व्यापार श्रमिक संगठनकी नेतृलाई सम्मान

नेकपा एकीकृत समाजवादीसँग आवद्ध नेपाल स्वतन्त्र सडक व्यापार श्रमिक संगठनकी नेतृ संगीता कार्की प्रतिनिधिसभामा समानुपातिकतर्फको उम्मेदवारमा सिफारिस भएकी छन् । उनको सिफारिसपछि श्रमिकहरूले आफ्नो आवाज सम्बन्धित निकायसमक्ष पुर्याउन सफलता मिल्ने भन्दै शुभकामना व्यक्त गरेका छन् ।

हिजो इटहरीमा आयोजित अन्तरक्रिया तथा सम्मान कार्यक्रममा नेपाल स्वतन्त्र सडक व्यापार श्रमिक संगठनले कार्कीलाई सम्मान गरिएको छ । लामो समयदेखि इटहरीको साप्ताहिक हटियालाई केन्द्र बनाएर सडक व्यापार गर्दै आएकी कार्की विगत एक वर्षदेखि एकीकृत ट्रेड युनियन महासंघको नेपाल स्वतन्त्र सडक व्यापार श्रमिक संगठनकी केन्द्रीय सदस्य हुन् ।

निडर र अन्यायको विरुद्ध आवाज ओकल्ने खरो स्वभावकी नेतृ संगीताले आगामी दिनमा समानुपातिकबाट संसदमा पुग्न सकेको खण्डमा सम्पूर्ण मजदुर वर्गको प्रतिनिधित्व गर्ने भएकाले सम्पूर्ण मजदुर वर्ग एक भएर लाग्नुपर्ने भनाइ राखेका थिए ।

नेपाल स्वतन्त्र सडक व्यापार श्रमिक संगठनका केन्द्रीय उपमहासचिव प्रदीप तामाङले संगीता एक सच्चा र इमानदार मजदुरको नेतृत्व गर्न सक्ने नेतृ भएकाले सम्पूर्ण मजदुर वर्गले उनलाई आफूहरूको आवाज सुनिदिने ठाउँसम्म पुर्याउन आग्रह गरेका छन् । कार्यक्रममा कृषि मजदुर संगठन, स्वतन्त्र सिटी सफारी संगठन, स्वतन्त्र सडक मजदुर संगठनलगायत प्रतिनिधिहरूले कार्कीलाई सम्मान गर्दै उनीप्रति आफूहरूको समर्थन रहेको बताएका थिए ।

नेपाल स्वतन्त्र सडक व्यापार श्रमिक संगठनका संघीय उपाध्यक्ष कृष्णप्रसाद वस्तीको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा बोल्दै संगीताले आफूले पहिलेदेखि नै अन्यायको विरुद्ध आवाज ओकल्दै आएको बताइन् । सडक व्यापारी र यातायात मजदुरहरुको समस्या समाधानमा लागिरहने बताउँदै उनले भनिन्, ‘समय समयमा सडक व्यापारीको पक्षमा बोल्दा आफूलाई पैसामा बिक्ने अवसर आयो । तर त्यसलाई अस्वीकार गर्दै यहाँसम्म आएको छु । आफूलाई आज संगठनका साथीहरूले खादा ओढाएको नभई जिम्मेवारीको भारी बोकाएको बोध भएको छ ।’

टिप्पणीहरू