बालेनका पिएलाई शिलान्यासको जिम्मा

बालेनका पिएलाई शिलान्यासको जिम्मा

स्वकीय सचिव जनप्रतिनिधिका सहयोगी हुन् । स्थानीय पालिकाका जनप्रतिनिधिले एक जनालाई पिए नियुक्त गर्न पाउने व्यवस्था छ । उनीहरूको जिम्मेवारी जनप्रतिनिधिले लाए अह्राएको काम गर्ने हो । तर, काठमाडौंका मेयर बालेन्द्र (बालेन) साहका स्वकीय सचिव भूपदेव शाहको हैसियत जननिर्वाचित वडाध्यक्षको भन्दा माथि छ । 

शिलान्यासदेखि कार्यक्रम उद्घाटन, विदेश यात्रा र उच्चस्तरीय बैठकमा उनले महानगरको ‘मुख्य प्रतिनिधि’ जसरी उपस्थिति जनाइरहेका हुन्छन् । महानगरको प्रतिनिधित्व गर्दै केही समयअघि विदेश पुगेका भूपदेवले हालै भद्रा घले स्पोटर्स पार्क शिलान्यास गरेका थिए ।

महानगर प्रहरी बलले २०८० साउन ४ गते धोबीखोला करिडोरस्थित सार्वजनिक जग्गामा रहेको ‘भद्राकुमारी घले सदन’ भत्काएको थियो । त्यहाँ निर्माण गर्न लागिएको पार्कको शिलान्यास गर्न मेयर जानुपर्नेमा भूपदेव पुगेर शिलान्यास सकाए । उनी हालै अर्को एक कार्यक्रममा अतिथि बनेर पुरस्कार वितरण पनि गरेका छन् ।

नयाँबानेश्वर व्यापार व्यवसायी संघले मंसिर २७ गते १६ औं साधारण सभा तथा आठौं अधिवेशन आयोजना गरेको थियो । कार्यक्रमको विशिष्ट अतिथि संघका अध्यक्ष थिए । त्यस्तै, प्रमुख अतिथि वडा नम्बर १० का वडाध्यक्ष रामकुमार केसी र अतिथि भूपदेव थिए । भूपदेवले कार्यक्रमलाई संबोधन गर्नुका साथै पुरस्कार पनि वितरण गरे । 

उनी मेयरको साटो कार्यक्रममा उपस्थित भएको स्रोतको जिकिर छ । स्रोतले भन्यो,‘मेयर जानुपर्नेमा उहाँ उपस्थित हुनुभएको हो । उहाँले सम्बोधनसँगै पुरस्कार पनि हस्तान्तरण गर्नुभयो ।’ वडाध्यक्ष केसीले अतिथि भएको बताए । भने, ‘म प्रमुख अतिथि थिएँ, उहाँ अतिथि हुनुहुन्थ्यो ।’

(जनआस्था साप्ताहिकको पुस २ गते बुधबारको अंकमा प्रकाशित) 

 

टिप्पणीहरू