महाकाली–मेची युवा जागरण कर्णालीबाट लुम्बिनीमा
युवा संघ नेपालद्वारा आयोजित महाकाली–मेची युवा जागरण अभियान आज साँझ कर्णाली प्रदेशको राजधानीबाट लुम्बिनी प्रदेशको कोहलपुर प्रवेश गरेको छ ।
बिहान सुुर्खेतमा मोटरसाईकल र्यालीका साथ शुरु भएको महाकाली–मेची अभियानअन्तर्गत कोणसभा सम्पन्न भएको बताइएको छ ।
सुब्बाकुनादेखि मंगलगडीचोकसम्म मोटरसाईकल र्याली निकालिएको थियो । र्यालीलाई कोणसभामा परिणत गर्दै राष्ट्रियताको पक्षमा नेपाली युवाहरू निरन्तर लागिपर्ने प्रतिबद्धता जाहेर गरिएको थियो । कार्यक्रममा नेकपा एकीकृत समाजवादीका नेता–कार्यकर्ताका साथै युुवा संघको केन्द्रीय टोलीले सम्बोधन गरेको थियो ।‘राष्ट्र निर्माणमा युुवा जनशक्ति परिचालन गरौँ, भ्रष्टाचारको जरो उखेलौँ’, भन्ने नाराका साथ अभियानको थालनी गरिएको थियो । जनतामा सकारात्मक सन्देश प्रवाह गर्दै राजनीतिप्रति उत्साह बढाउने, युवा पलायनलाई रोक्ने तथा भ्रष्टाचारविरुद्ध आवाज उठाउने र समाजवादी यात्रामा आमजनसमुदायलाई लामबद्ध हुन प्रेरित गर्ने सन्देश प्रवाहको लागि अभियान सुरु गरिएको युुवा संघले जनाएको छ ।
‘भ्रष्टाचार र अनियमितताको आधार, भड्किलो र खर्चिलो उम्मेदवार बहिष्कार’ भन्ने नाराका साथ युवा संघले अभियान सञ्चालन गरेको हो । महाकालीबाट यात्रा सुरु गर्ने र मेचीमा पुगेर टुंगिने युवा संघले जनाएको छ । कार्यक्रममा सयौँ कार्यकर्ताको सहभागिता थियो ।सुर्खेतको कार्यक्रमअघि छिञ्चुमा पर्चा वितरण गरिएको बताइएको छ । सुर्खेतमा र्याली र कोणसभापछि हिजै उक्त अभियान लुम्बिनी प्रदेश प्रवेश गर्दा कोहलपुरमा युवा संघको स्थानीय नेतृत्वले स्वागत गरेको थियो ।
सो क्रममा नेकपा एकीकृत समाजवादीका केन्द्रीय सदस्य तथा प्रदेश संगठन विभाग प्रमुख अशोक कोइरालासहितले मन्तव्य व्यक्त गर्नुभएको थियो ।
टिप्पणीहरू