केटी लगाएर हाकिमको हत्या
हाकिम मारेको अभियोगमा सशस्त्र प्रहरीले आफ्नै जवानलाई समातेर छानबिन अघि बढाएको छ । मधेश प्रदेशको सप्तरी छिन्नमस्ता बिओपीमातहत मोहनपुर फरवार्ड बेसमा कार्यरत असई सत्यनारायण यादव टीकाको अघिल्लो दिन हराएका थिए । उनी हराएको सूचना दिने जवान होमबहादुर खत्रीले नै सीमापारि लगेर मारेको स्विकारेका छन् । स्रोतका अनुसार कोरोना कालमा प्रत्येक गल्ली गल्लीमा सशस्त्र प्रहरी खटाएर मान्छेहरूको आवतजावत बन्द गरिएको थियो ।
यसै बेला सखडास्थित छिन्नमस्ता बिओपीमातहत दुई वटा एफओबिपी खडा गरियो । त्यसमध्ये एक सखडाबाट करिब साढे तीन किलोमिटर टाढा लगिएको थियो । र, अर्काेलाई ४ किमि टाढा राखेर असईले कमाण्ड गर्दै आएका थिए । कोरोना कहर सकिएपछि सानो सानो युनिट राख्दा अनुशासनलगायत समस्या आउने देखिएपछि हलचोक मुख्यालयले पछि स्थायी रूपमा बिओपी बनाउन सकिनेबाहेक अन्यलाई फिर्ता ल्याउन आदेश दियो ।
बिओपीमा १० जनाभन्दा कम जनशक्ति नराख्ने र अरुलाई फिर्ता बोलाउने भन्ने निर्देशन थियो । तर, मुख्यालयको आदेशविपरीत सप्तरीका एसपीले कतिपय एफबिओपी हटाएको जवाफ दिए पनि कायमै राखे ।
स्रोतका अनुसार, मृतक असई दारु भनेपछि हुरुक्कै हुने स्वभावका थिए । केही महिनाअघि बर्दिबासस्थित छिन्नमस्ता बाहिनीमा आयोजित एक तालिममा सहभागी हुन आउँदा पनि उनलाई मादक पदार्थ सेवन गरेको भेटिएपछि स्पष्टीकरण सोधेर कारबाहीस्वरूप सचेत गराइएको थियो । तालिमपश्चात् स्थानीय निर्वाचनमा सिराहाको गोलबजारतिर खटेका थिए । त्यहाँ पनि दारु खाएर स्थानीय महिलालाई जिस्क्याएको उजुरी एसपीकहाँ गरिएको थियो ।
सो उजुरीबारे माथिल्लो तालुक कार्यालयका हाकिमहरूलाई जानकारी गराइएपश्चात् ५ वर्षको लागि ५ ग्रेड घटुवा गर्ने निर्णय भएको थियो । एसपीले यस्ता असईसँग काम गर्न अप्ठ्यारो छ भने पनि सरुवा गरेर उनलाई सप्तरी सखडास्थित छिन्नमस्ता बिओपीतर्फ खटाइएकोमा त्यहाँका एसपी प्रदीप खड्काले मोहनपुरको एफबिओपी पठाइदिएका थिए । यसमा मुख्यालयको आदेशविपरीत काम भएको देखिन्छ । अहिले एसपी हलचोक मुख्यालयमा तानिएका छन् ।
सोही एफबिओपीका एक जवानले असोज १८ गतेका दिन असई साहेब सम्पर्कमा नभएको रिपोर्ट अढाई महिनाअघि पुगेका सईलाई गरे । त्यसपछि सई र जवान मिलेर असईको खोजी गर्न थाले । फेला नपरेपछि बिओपीमा फर्किए । भोलिपल्ट बिहान एसपीलाई रिपोर्ट गरेर फेरि असईको खोजी गर्न थाले । यो घटनाबारे बाहिनी प्रमुख गणेश ठाडा मगरलाई कुनै जानकारी नदिएको स्रोतले दाबी गरेको छ ।
एसपीले बाहिनीपतिलाई असई हराएको रिपोर्ट गर्नुको बदला दशैँमा घर जान बिदा मागेका थिए । यसैपालि बुबा बितेकाले दशैँमा टीका लगाउन नमिल्ने भए पनि आमा एक्लै भएको र नियास्रो मान्ने भएका कारणले गर्दा बिदा पाऊँ भनी निवेदन गरेका थिए । झापा घर भएका एसपीले आमाको सामु यसो देखा परेर आउँछु भनेपछि ल ल जाऊ तर सरकारी गाडी नलिइकन भनेर बिदा छाडिएको स्रोतले बताएको छ ।
टीकाको भोलिपल्ट मात्रै दिउँसो ३ बजेतिर एसपीले घटनाबारे जानकारी गराए । मुख्यालयले घटनाको छानबिन गर्न तत्कालै एआइजी सीपी गौतमको नेतृत्वमा डिआइजी कुलबहादुर नेम्वाङ, कानुन शाखाका छवि पाण्डे रहेको तीन सदस्यीय समिति गठन गरेको छ । प्रारम्भिक छानबिनमा जसले असई साहेब हराएको सूचना दिए उनैले बोर्डर पारी लगेर हत्या गरेको खुलेको छ । उनले दारु खाएर मातेको बेला भनाभन हुँदा हत्या गर्न पुगेको बयान समितिलाई दिएको बताइन्छ ।
न हाँस, न बकुल्लाको चाल
सशस्त्र प्रहरीका एसपी त्रिभुवन बिष्टले रासन घोटालालगायत अनियमित काम गरेको भन्दै मिडियावाजी गर्ने सहायक हवल्दार नरेश साउदलाई विशेष अदालतले सफाइ दिएको छ । उनी निर्दोष सावित भई गत हप्ता जेलबाट रिहा भएका छन् । तर, हवल्दार साउदले छरपस्ट गरी डामेका एसपी भने मुख्यालयमा आराम फर्माउँदै बसेको अवस्था छ । साउदले सफाइ पाएपछि उनको भनाइ ठीक थियो भन्ने अर्थ लाग्छ । यस्तो बेला एसपी विष्ट उपरखुट्टी लगाएर कसरी हलचोकमा बस्न सकेका होलान् भन्ने प्रश्न उठ्न थालेको छ ।
चुनावको मुखमा दार्चुलाजस्तो सीमावर्ती जिल्लामा सशस्त्र प्रहरीको एसपी खाली छ । बिष्टलाई कुनै कारबाही गरिएको छैन । अर्को एसपी नभएजस्तो कसैलाई पठाइएको पनि छैन । यसैबीच, एसएसपी दीपेन्द्र विष्ट र भानु देउवाहरू बिष्टलाई नै दार्चुला पठाउनु भनेर लागेको दाबी स्रोतले गरेको छ ।
टिप्पणीहरू