प्रधानमन्त्रीले बिहीबारदेखि चार दिन लगातार चुनावी भाषण गर्ने
प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले गृह जिल्ला डडेल्धुरामा चुनावी आमसभालाई सम्बोधन गर्ने कार्यक्रम तय गरिएको छ । उहाँले आगामी बिहीबारदेखि आइतबारसम्म जिल्लाका सात वटै स्थानीय तहमा आयोजना गरिने सभालाई सम्बोधन गर्ने कार्यक्रम बनाइएको छ ।
प्रधानमन्त्रीले पहिलो दिन १७ गते सदरमुकामको बसपार्कमा राखिएको चुनावी सभालाई सम्बोधन गर्ने कार्यक्रम छ । भोलिपल्ट बिहान नवदुर्गा गाउँपालिकाको बेलापुर खुनी र दिउँसो गन्यापधुरा गाउँपालिका–२ बडालमा राखिएको सभालाई सम्बोधन गर्ने सत्ता गठबन्धन दलहरुले जनाएका छन् । गन्यापधुरा उहाँको जन्म गाउँ हो ।
शनिबार बिहान अजयमेरु गाउँपालिकाको भद्रपुर र दिउँसो भागेश्वर गाउँपालिकाको रूपालमा भाषण गरेपछि आइतबार बिहान आलिताल गाउँपालिकाको गोदाम र घरेलु बजारमा, दिउँसो परशुराम नगरपालिकाको जोगबुढामा आयोजना हुने सभालाई सम्बोधन गर्ने कार्यक्रम भएको बताइन्छ ।
डडेल्धुरामा प्रधानमन्त्री देउवाविरुद्ध उहाँकै पूर्व स्वकीय सचिव कर्णबहादुर मल्ल, स्वतन्त्र उम्मेदवार तथा एमालेका नेता विक्रम शाही र गुल्मीका युवा सागर ढकाललगायत आठ जना चुनावी मैदानमा छन् ।
टिप्पणीहरू