सिडिओ कार्यालयका कर्मचारीले बिहान राष्ट्रिय गान गाउन थाले
जिल्ला प्रशासन कार्यालय बझाङको प्राङ्गणमा हरेक दिन बिहान कर्मचारीले राष्ट्रिय गान गाउन थालेका छन् । उनीहरुले कार्यालय समय अगाडि सामूहिक रुपमा उभिएर राष्ट्रिय गान गाउन थालेका हुन् ।
हिजो बिहानदेखि दुई दर्जन कर्मचारीले कार्यालय छिर्नुअघि राष्ट्रिय गान गाउनैपर्ने नियम बनाइएको छ । कर्मचारीलाई सेवाग्राही र आफ्नो दायित्वप्रति थप जिम्मेवार बनाउन राष्ट्रिय गान गायन थालिएको प्रमुख जिल्ला अधिकारी नारायण पाण्डेको भनाइ छ ।
राष्ट्रिय गानको निम्ति कार्यालयको प्राङ्गणमा उभिने कर्मचारीले अनिवार्य रुपमा तोकिएको सरकारी पोशाक लगाएर परिचयपत्र भिर्नैपर्ने छ । कर्मचारीलाई सेतो सर्ट, नीलो पाइन्ट र कोट तथा फरक पोशाक लगाउन चाहने महिलाको हकमा पनि तोकिएको पोशाक लगाउनुपर्ने छ । पाण्डे प्रमुख जिल्ला अधिकारीको रुपमा आएपछि प्रशासनिक सुधार गर्ने क्रममा पछिल्लो नियम र थिति बसाइएको कर्मचारीहरुले बताए ।
टिप्पणीहरू