बिदेशमा बितेकाको बीमा बिचौलियाले खाएपछि श्रम मन्त्रालयले भन्यो - गम्भीर ध्यानाकर्षण भएको छ

बिदेशमा बितेकाको बीमा बिचौलियाले खाएपछि श्रम मन्त्रालयले भन्यो - गम्भीर ध्यानाकर्षण भएको छ

वैदेशिक रोजगारीको क्रममा मृत्यु भएकाले पाउने क्षतिपूर्तिबापतको रकमका लागि बिचौलियाको भर नपर्न श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले सचेत गराएको छ ।

वैदेशिक रोजगार बोर्डबाट श्रमिक कल्याणबापत पाउने सात लाख र म्यादी जीवन बीमा गरेबापतको १४ लाख रुपैयाँका लागि बिचौलियाको पछाडि नलाग्न मन्त्रालयले आग्रह गरेको हो । बीमाबापत पाउने रकम अनलाइनमार्फत सिँधै नातेदारको खातामा स्थानान्तरण गर्ने व्यवस्था रहेको मन्त्रालयका सहसचिव एवं प्रवक्ता डण्डुराज घिमिरेले बताए । 

उनकाअनुसार श्रम स्वीकृति अवधि समाप्त भएको एक वर्षभित्र मृत्यु भएमा, अङ्गभङ्ग भएमा वा अपाङ्ग भएमा बीमा रकम पाउने प्रावधान छ । तर, पारदर्शी कानुनी व्यवस्थाको बाबजुद पनि केही बिचौलियाको अनावश्यक हस्तक्षेपबाट श्रमिकका आफन्तले यस्तो रकम नपाएको गुनासो गर्दै मन्त्रालयले यसबाट श्रमिक तथा निजका आफन्तहरुले व्यहोर्नुपरेको मर्काप्रति आफ्नो गम्भिर ध्यानाकर्षण भएको जनाएको छ । 

साथै, यस्तो गैरकानूनी कार्यमा संलग्न भएको जानकारी पाएमा मन्त्रालयको कल सेन्टर तथा सम्बन्धित जिल्ला प्रशासन कार्यालय वा प्रहरीसमक्ष सम्पर्क गर्न समेत मन्त्रालयले अनुरोध गरेको छ ।

टिप्पणीहरू