अख्तियार प्रमुखमाथि फेरि अर्को धम्की
अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेमकुमार राईलाई पुनः ज्यान मार्ने धम्की आएको छ । यसअघि इमेलमार्फत मेल पठाएर धम्की दिइएकोमा यसपटक भने सामाजिक सञ्जालमार्फत उनको टाउकोमा गोली ठोक्न आह्वान गरिएको छ ।
झण्डै एक दर्जन भिआईपीलाई ज्यान मार्ने धम्की दिने उग्रवादी समूहका नाइके प्रकाश पाठकले उनलाई गोली ठोक्नेलाई दुई करोड रुपैयाँ पुरस्कार दिने घोषणा गरेका छन् । ‘एक्स्ट्रिमिस्ट ग्रुप अफ नेपाल (ईजिएन)’ नामक समूहका चेयरम्यान उनले राईको सुरक्षामा खटिएका सुरक्षाकर्मीमध्येबाट कसैले गोली ठोकेमा सो रकम दिने बताएका छन् ।
हिजो साँझ सामाजिक सञ्जालमा एउटा स्ट्याटस पोष्ट गर्दै उनले गोली ठोकेर ईजिएनको नाममा सरेण्डर गरेमा सो रकम परिवारलाई उपलब्ध गराउने उल्लेख गरेका छन् । त्यस्तै, आफ्नो अनुकूलको सरकार भएकाले धेरै समय जेल पनि बस्न नपर्ने उनको जिकिर छ ।
उनले लेखेका छन्,‘राईको वरिपरि हिँड्ने सुरक्षाकर्मी साथीहरु,जो बहादुरी सच्चा देशभक्त हुनुहुन्छ भने, टाउकोमा गोली ठोक्नुहोस् प्रेम राईको, अनि सरेण्डर गर्नुहोस् ईजीएनको नाम लिएर, दुई करोड इनाम दिनेछौं तपाईँको परिवारलाई, हाम्रोअनुकूलको सरकार हुँदा धेरै समय जेल बसिरहनुपर्नेछैन।’

साथै, सुरक्षाको घेरामा ढुक्कले बसेका राई ढिलोचाँडो मारिनुपर्नेसमेत भनिएको छ । यसअघि उनको समूहले १० जनालाई मार्ने योजना बनाएको भन्दै अख्तियारको आधिकारिक इमेलमा मेल पठाएको थियो ।
इमेलमा लेखिएको छ, ‘हामीले १० जनाको हत्या गर्ने निर्णय गरेका छौँ,त्यसमा तपाईंको नाम पनि छ । १० दिनभित्र राजीनामा दिनुहोला,यदि दिनुभएन भने यसबीचमा आफ्नो अन्तिम इच्छा पूरा गर्न सक्नुहुन्छ ।’
टिप्पणीहरू