बालकोट बस्ने, सस्तो आइफोनको प्रलोभनमा सर्वसाधारण ठग्ने

बालकोट बस्ने, सस्तो आइफोनको प्रलोभनमा सर्वसाधारण ठग्ने

नक्कली विज्ञापनबाट सर्वसाधारणलाई प्रलोभनमा पारेर अनलाइनमार्फत ठग्दै आएका एक जना पक्राउ परेका छन् । आकर्षक विज्ञापन गर्दै महंगो मूल्यका आइफोन सेटहरु सस्तो मूल्यमा बिक्रीमा रहेको देखाउँदै ठगेका उपेन्द्र शाहीलाई प्रहरीले नियन्त्रणमा लिएको छ । 

प्रहरीको काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले आज भक्तपुरको बालकोटबाट उनलाई नियन्त्रणमा लिएको हो । 

हुम्लाको सिमकोट गाउँपालिका वडा नम्बर ४ घर भई हाल भक्तपुरको बालकोट बस्दै आएका २४ वर्षीय शाहीले हाम्रो बजार डटकम वेबसाइटमार्फत् विभिन्न आकर्षक नक्कली विज्ञापनको प्रलोभन देखाएर ठगेका हुन् । उनले उक्त वेबसाइटमा (आइफोन १४ प्रोम्याक्स) लगायत महंगा आइफोन मोबाइल सेटहरु सस्तो मूल्यमा बिक्रीमा रहेको प्रचार गरेका थिए । त्यसपछि सम्पर्कमा आएकालाई बैंक खाता, इसेवा तथा खल्ती वालेटमा रकम पठाउन लगाएको प्रहरीको अनुसन्धानबाट खुलेको छ । 

त्यसरी रकम उठाएर शाही सम्पर्कविहीन भएपछि पीडितहरुले आफूहरु ठगिएको थाहा पाएका थिए । पीडितहरुको जाहेरीपछि पक्राउ परेका उनलाई ठगीसम्बन्धी कसूरमा आवश्यक अनुसन्धान एवम् कारबाहीको निम्ति जिल्ला प्रहरी परिसर टेकू, काठमाडौँ पठाइएको छ ।

टिप्पणीहरू