बेलायतदेखि नेपालसम्म ठगीको बान्की
लण्डन बस्ने भूतपूर्व गोर्खा सैनिक सूर्य नेम्वाङले भूतपूर्व गोर्खाका सन्तान बेलायत लगिदिने बहानामा करोडौं ठगी गरेको पाइएको छ । नेम्वाङले बेलायतको आवासीय भिसा मिलाइदिने प्रलोभन देखाउँदै एउटै परिवारबाट झण्डै ५० लाख रुपैयाँसम्म असुलेको पाइएको छ । नेम्वाङले सोलिसिटर र कोर्ट फिबाहेक ५ हजार पाउण्ड (८ लाख रुपैयाँ) न्यूनतम रकम लिने गरेको पीडितले बताएका छन् ।
लण्डनको एउटा पाकिस्तानी ल फर्म बोण्ड आडम्स् सोलिसिटर्सको ‘लिगल कन्सल्टेन्ट हुँ’ भन्दै शुरुमा क्लाइन्टका सबै कागजात, राहदानी, इमेल र बैंक कार्ड जफत गर्छन् । अनि केस टुंगो लागिसकेपछि पनि ब्यारिस्टर र अदालतमा मिलाउनुपर्छ भन्दै रकम बार्गेनिङ गर्ने गरेको एक पीडितले बताए । अदालतले केस जिताएपछि होम अफिसले आवेदकको पासपोर्ट माग्दा २ हजार पाउण्ड लाग्छ भन्दै अतिरिक्त पैसा लिने गरेका छन् जुन एक पैसा बुझाउनु पर्दैन । ‘उसलाई केसको डिसिजन क्लाइन्ट्सलाई भन्दा पहिले थाहा हुन्छ अनि मलाई यति पैसा चाहिन्छ भनेर बार्गेनिङ गर्न थाल्छ’, एक पीडितले लण्डनबाट फोनमा भने, ‘नदिई सुखै हुन्न । उसैले कतिपय नक्कली कागजात बनाउन लगाएको हुन्छ । भनेको पैसा नदिए म होम अफिसलाई कम्प्लेन गरिदिन्छु भनेर तर्साउँछ ।’
बेलायतमा कोर्स नगरी म लिगल कन्सल्टेन्ट हुँ भन्नु गैरकानुनी अपराध हो तर नेम्वाङले पाकिस्तानीसँग मिलेर ठगी कर्मलाई तीव्रता दिएको श्रोतको भनाइ छ । उनमा न कुनै कानुनी विज्ञता छ, न योग्यता । बूढाबूढीको घर–घर पुगेर पैसा बटुल्नमा श्रीमतीको भूमिका रहेको पीडितको गुनासो छ । नेपालीहरू धेरै बस्ने अल्डरसटमा नेम्वाङ लिमिटेड युके कम्पनी खोलेका उनले नेपालमा समेत गैरकानुनी कम्पनी खोलेका छन् । ‘काठमाडौंको भिएफएस अफिसमै ढुकेर रिफ्युज हुनेको केस म मिलाउँछु भन्दै धेरैलाई फसाएको छ’, एक गोर्खाले भने ।
यसअघि श्रेष्ठ करिअर एड्भाइजरसँग काम गरेका उनी गलत धन्दाकै कारण त्यहाँबाट निकालिएका थिए । अहिले नेपालमा गार्डियन एडभाइजर र बेलायतमा नेम्वाङ लिमिटेड युके कम्पनी खोलेर कमाउन उद्यत छन् । नेपालमा उनको ठगीविरुद्ध कसैले केही आवाज उठाए गुण्डा अगाडि सारेर हात खुट्टा भाँचिदिने धम्की दिने गरेको पीडितहरू बताउँछन् ।
नेम्बाङले गुण्डा मात्र होइन, पैसा पेलेर पत्रकार र नेता पनि आफ्नो पकेटमा राखेको एक गोर्खालीको दाबी छ । त्यसो त उनले हालै मात्र युरोपको पुरानो नेपाली संगठन यती नेपाली एसोसिएसन युकेमा ७ सय सदस्य रातारात किनेर वरिष्ठ उपाध्यक्ष बनेका छन् । नेपाली जनसम्पर्क समिति बेलायतमा पनि आबद्धता छ । पाँचथरमा यौन दुव्र्यवहार गरेको मुद्दा विचाराधीन रहेको स्रोतले जनाएको छ । त्यो मुद्दाको तारिख धाउन लुसुक्क नेपाल पुगेर फर्किहाल्छन् । बेलायतमा उनीविरुद्ध मुद्दा हाल्न पीडितहरूले प्रमाण जुटाइरहेको बताइन्छ । नेम्वाङले भने प्रगति देख्न नसकेर आफूविरुद्ध केहीले ठगी धन्दाको लाञ्छना लगाउने गरेको जिकिर गरेका छन् ।
(जनआस्था साप्ताहिकबाट साभार)
टिप्पणीहरू