‘फ्रि टिकट, फ्रि भीसा’ लाई सहजीकरण गर्दै गोल्डेन ड्रीम एप

‘फ्रि टिकट, फ्रि भीसा’ लाई सहजीकरण गर्दै गोल्डेन ड्रीम एप

सरकारले मलेसिया र खाडी मुलुकमा जाने कामदारका लागि व्यवस्था गरेको ‘फ्रि टिकट, फ्रि भीसा’ लाई सहज बनाउन गोल्डेन ड्रीम नामको एपले सहजीकरण गर्ने भएको छ । इशारा ईन्स्टिच्युटको सहकार्यमा अखिल नेपाल ट्रेड युनियन महासंघअन्तर्गतको अखिल नेपाल प्रवासी श्रमिक मञ्चले शनिबार आयोजना गरेको एक कार्यक्रममा यसबारे जानकारी दिइएको हो । 

ईन्स्टिच्युटले शुरु गरेको उक्त एपले हाल मलेसियामा कार्यरत नेपाली श्रमिक र वैदेशिक रोजगारीका लागि उक्त मुलुक जानेलाई ‘फ्रि टिकट, फ्रि भीसा’ कार्यान्वयन गर्न सहजीकरण गरिरहेको छ । नेपालबाट हरेक दिन वैदेशिक रोजगारीमा जानेको संख्या बढदै गएको र उनीहरुबाट म्यानपावर कम्पनीले मनलाग्दी पैसा असुलेको अवस्थालाई मध्यनजर गर्दै यो व्यवस्था कार्यान्वयन गरिएको ईन्स्टिच्युटका संचालक हिमालय खरेलले बताए । 

वैदेशिक रोजगारीलाई निःशुल्क, सुरक्षित र सुलभ बनाउनु आफूहरुको उद्धेश्य रहेको उनको भनाइ छ । उक्त एप डाउनलोड गरेर निर्देशनअनुसार आफ्नो बायोडाटासहित आवश्यक कागजात राखेर पेश गर्नुपर्नेछ । कागजातको आधारमा सम्बन्धित कामको खोजी गर्न सहज हुने हुँदा बीचमा हुने एजेन्टहरुको ठगी, अनावश्यक झन्झट र म्यानपावरसम्म धाउनपर्ने बाध्यताबाट छुटकारा पाइने खरेल बताउँछन् । एपमार्फत आफ्नो कागजातको आधारमा खोजिएको काम, कम्पनी र त्यसको सेवासुविधालगायतको बारेमा नोटिफिकेशन आउने जनाइएको छ । 

कार्यक्रममा अखिल नेपाल ट्रेड युनियन महासंघका अध्यक्ष जगतबहादुर सिम्खडाले झन्डै ६० लाखको हाराहारीमा नेपाली श्रमिक वैदेशिक रोजगारीमा गएको जानकारी दिए । उनले यो मुलुकका लागि निकै डरलाग्दो अवस्था भएको बताए । 

वैदेशिक रोजगारबाट ९ खर्बभन्दा बढी रेमिट्यान्स आउने भएपनि झण्डै त्यसकै अनुपातमा खर्च हुने हुँदा देशलाई फाइदा नहुने पनि सिंखडाको भनाई छ । उनका अनुसार दुई प्रतिशत दक्ष कामदार वैदेशिक रोजगारीमा गएका छन् । त्यस्तै, २३ प्रतिशत अर्धदक्ष र ७३ प्रतिशत अदक्ष कामदार वैदेशिक रोजगारीमा गएको बताउँदै सिंखडाले नेपालको शिक्षा नीतिलाई परिवर्तन गरेर प्राविधिकमैत्री बनाउनुपर्नेमा जोड दिए । 

कार्यक्रममा अखिल नेपाल प्रवासी श्रमिक मञ्चका अध्यक्ष दुर्गाप्रसाद खतिवडाले श्रमिक हकहितका लागि सबैसंग सहकार्य गरेर अगाडि बढ्ने प्रतिबद्धता जनाएका छन् ।

टिप्पणीहरू