ललितपुर महानगरको बगैंचामा रैथाने खाना महोत्सव

ललितपुर महानगरको बगैंचामा रैथाने खाना महोत्सव

संस्कृतिलाई आयआर्जनसँग जोड्ने उद्देश्यले ललितपुरमा ‘परम्परागत सांस्कृतिक रैथाने खाना महोत्सव’ को आयोजना गरिएको छ ।

माक्र्सवादी ज्ञान केन्द्रले ललितपुर महानगरपालिका परिसरको बगैंचामा हिजोदेखि उक्त कार्यक्रम शुभारम्भ गरेको हो । संस्कृति सम्वद्र्धन र आयआर्जनलाई सँगसँगै अगाडि बढाउन सकिने उदाहरण दिन यो कार्यक्रम गरिएको जनाइएको छ ।

केन्द्रका महासचिव ईन्द्र भट्टराईका अनुसार सातवटै प्रदेशमा यो कार्यक्रम गरिनेछ । नेवार समुदाय ललितपुरको रैथाने भएकाले महोत्सवमा नेवारी खानालाई प्रोत्साहन गरिएको उनको भनाइ छ । 

‘यो दुई दिने कार्यक्रम हो । ललितपुरमा नेवारी समुदायको बसोबास भएकाले नेवारी खानालाई प्राथमिकतामा राखेका छौं । हाम्रो लक्ष्य प्रदेशदेखि जिल्लासम्म रैथाने खाना र संस्कृतिलाई प्रोत्साहन गर्नु हो’, उनले भने । 

त्यस्तै, उनले झापा, टीकापुर, जुम्ला, बाँकेलगायतका अधिकांश जिल्लामा सांस्कृतिक महोत्सव सञ्चालन गरिसकेको जानकारी पनि बताए । ललितपुर महानगरकी उपमेयर मञ्जली शाक्य बज्राचार्यले टोलीलाई कार्यक्रम सञ्चालन गर्न महानगरपालिकाले परिसर उपलब्ध गराएको जानकारी दिइन् । 

कार्यक्रममा रैथाने खानालाई प्राथमिकतामा राखेको उल्लेख गर्दै उनले भनिन्, ‘हामीले कार्यक्रम गर्नलाई ठाउँ मात्र उपलब्ध गराएका हौं । उहाँहरुले हिजो दिँउसो २ बजेदेखि कार्यक्रम शुरु गर्नुभएको हो । कार्यक्रममा सबै लोकल फुड मात्रै छ । परम्परागत खानालाई प्रोत्साहन गर्नु राम्रो कुरा हो ।’ 

आज बिहान ११ बजेदेखि शुरु भएको दोस्रो दिनको कार्यक्रम अपरान्ह ५ बजे सकिने जनाइएको छ । महोत्सवमा सहभागी हुन चाहनेलाई प्रवेश निःशुल्क छ ।

टिप्पणीहरू