जन्मका आधारमा नागरिक बनिसकेकाको सन्तानलाई वंशजको मान्यता पाउन १२ वटा प्रावधान
काठमाडौं जिल्ला प्रशासन कार्यालयले जन्मका आधारमा नागरिकता लिएकाका सन्तानले वंशजको नागरिकता लिनुअघि पूरा गर्नुपर्ने प्रक्रियाबारे जानकारी गराएको छ । काठमाडौंका सबै स्थानीय तहलाई नागरिकताको सिफारिसअघि त्यस्ता व्यक्तिले पेश गर्नुपर्ने कागजातको बारेमा आज लिखित जानकारी गराइएको छ ।
सिडिओ कार्यालयले पठाएको निर्देशनमा भनिएको छ,‘नेपाल नागरिकता (पहिलो संशोधन) ऐन,२०७१ मिति २०६० जेठ १७ को राजपत्रमा प्रकाशित भई हाल कार्यान्वयन गर्ने सन्दर्भमा प्रचलित नेपाल कानून,नेपाल नागरिकता ऐन,नेपाल नागरिकता नियमावली (संशोधन सहित) बमोजिमको आवश्यक प्रक्रिया पुर्याई सिफारिश गर्ने व्यवस्था हुन अनुरोध छ । साथै, जन्मका आधारमा नागरिकता लिएका नागरिकका सन्तानलाई वंशजको नेपाली नागरिकता प्रमाणपत्रका लागि सिफारिश गर्दा आवेदकको बाबु र आमा नेपाली नागरिक भएको र निजहरु निरन्तर नेपाल सरहदभित्र बसोबास गरेको यकिन गरी देहायबमोजिमको कागजात/प्रमाणपत्रहरू संलग्न राखी अनुसूची फारमसहित सिफारिश गरी पठाउने व्यवस्था मिलाउन सबै वडाहरुलाई तुरुन्त परिपत्र समेत गरिदिनुहुन आदेशानुसार अनुरोध छ ।’
सरकारको निर्देशनअनुसार अब त्यस्ता व्यक्तिले बुबा र आमाको सक्कल नेपाली नागरिकताको प्रमाणपत्र, आफ्नो सक्कल जन्मदर्ता प्रमाणपत्र वा जन्म मिति र जन्मस्थान खुल्ने कागजातसँगै जग्गाधनी दर्ता प्रमाण पूर्जा (निवेदकको बाबु वा आमाको नाममा भएको) पेश गर्नुपर्ने छ ।
त्यसैगरी बुबा,आमा र सन्तानबीच फोटोसहितको नाता प्रमाणित कागजात, शैक्षिक प्रमाणपत्र (विदेशी मुलुकमा अध्ययन गरेको भए नेपाल सरकारबाट मान्यताप्राप्त निकायबाट व्यक्तिको नाममा गरिएको समकक्षता निर्धारण), घरधनी दर्ता प्रमाणपुर्जा (नक्सा पास वा अन्य सबुत प्रमाण), उद्गमस्थान र गन्तव्य स्थानको बसाई सराई दर्ता प्रमाणपत्र (ठेगाना परिवर्तन गरी नागरिकता लिन चाहेमा) पनि अनिवार्य गरिएको छ ।
सिडिओ कार्यालयको पत्रमा नागरिकता सिफारिस सम्बन्धमा लेखिएको छ, ‘स्थानीय निकायले नेपालमा नै जन्म भई निरन्तर नेपालमा बसोबास गरेको भनी गरिदिएको स्थायी बसोबास प्रमाणित पत्र, बाबुआमाको विवाहदर्ता र पारिवारिक विवरण, बाबु,आमामध्ये कोही वा दुवैको मृत्यु भएको हकमा मृत्युदर्ता प्रमाणपत्र, अन्य तोकिएको कागजात, स्थायी लेखा नम्बर तथा व्यवसाय दर्ता प्रमाणपत्र, २०६३ को टोलीले नाबालक दर्ता गरेको भए सोको निस्सा र यस कार्यालयबाट आवश्यकताअनुसार स्थलगत प्रहरी सर्जमिन मुचुल्कासमेत गरिने हुँदा सो व्यहोरालाई पुष्टि गर्ने अन्य कागजातहरु ।’
टिप्पणीहरू