रातारात अस्पताल भवन ठडिएपछि स्थानीय दंग

रातारात अस्पताल भवन ठडिएपछि स्थानीय दंग

सिन्धुपाल्चोकको सदरमुकाम चौतारामा निर्माणाधीन चौतारा अस्पतालको भवन निर्माण कार्यको तीव्रता देखेर स्थानीय छक्क परेका छन् । अर्कोतर्फ चौतारा टँुडिखेलमा बन्दै गरेको मिनी रंगशाला भवनको कार्य यतिखेर ३० प्रतिशत पनि सम्पन्न भएको छैन । दुई वर्ष अगाडि थालिएको रंगाशालाको निर्माण कार्यमा भएको सुस्तता देखेर दिक्क मानेका चौताराबासी चिनियाँ सहयोगमा बन्दै गरेको चौतारा अस्पतालको निर्माण कार्यको तीव्रता देखेपछि छक्क मात्र छैनन् खुशी पनि भएका हुन् । 

मिनी रंगशाला बन्दै गरेको टँुडिखेलबाट लगभग ७० मीटरको दूरीमा बन्दै गरेको अस्पताल भवन निर्माणको प्रगति देखेर भन्न थालिएको छ, ‘आखिर दुवैथरी ठेकेदार हुन् । स्वदेशी यस्तो, विदेशी त्यस्तो ।’

हुनपनि पछिल्लो नौ महिनाको अवधिमा चौतारा अस्पतालको पुनर्निर्माण कार्य ७० प्रतिशत सम्पन्न भइसकेको छ । चिनियाँ अनुदानमा बनिरहेको भवनको बाहिरी संरचना पूरा भइसकेको छ । चिनियाँ ठेकेदार कम्पनी हबेई कन्स्ट्रक्सन ग्रुपले अन्तर्राष्ट्रिय मापदण्डअनुरूप भवन बलियो रहेको र ७० प्रतिशत काम सकिएको जानकारी दिएको छ । साढे तीन तले भवनको बाहिरी संरचना निर्माण सकिएको छ । भित्री काम र फिनिसिङ आउँदो फागुन मसान्तभित्र सम्पन्न हुने  चिनियाँ इञ्जिनियर कुओ पाओचिङले बताए ।

३९ बेडको अस्पताल भवनमा ५० भन्दाबढी साना ठूला कक्ष रहनेछन् । नयाँ भवनमा चिनियाँ युआन ६ करोड १० लाख खर्च हुनेछ । बिरामीका लागि ३९ वटा बेड भवनको पहिलो र दोस्रो तलामा रहने छन् । सुविधा सम्पन्न भवन अपाङ्गमैत्री हुनुका साथै लिफ्ट र अत्याधुनिक उपकरणयुक्त हुनेछ । भवनभित्र कन्सल्टिङ रुम तीन वटा, ओपिडी, इमर्जेन्सीसहित तीन, फार्मेसी, काउन्टर, रिसेप्सन, तीनवटा नर्स स्टेसन, अपरेटिङ थिएटर तीन, ल्याब पाँच, उपचार कक्ष पाँच, किचेन–क्यान्टिन दुई, शिशु आहार कक्ष, वहुकार्य कक्ष, लाइब्रेरीसमेत रहने छन् । 

चिनियाँ इन्जिनियरकाअनुसार अस्पताललाई आवश्यक सम्पूर्ण स्वास्थ्य सामग्री चीन सरकारले उपलब्ध गराउने छ । भवननिर्माणका लागि बालुवा, गिटी र सिमेन्टबाहेक फलाम, स्टिल र काठजन्य सामग्री पनि चीनबाटै ल्याइएको छ । 

२०७२ वैशाख १२ गतेको महाभूकम्पले चौतारा अस्पतालको भवन ध्वस्त भएपछि त्यसयता अस्पतालको सेवा र उपचार अस्थायी संरचनामा हुँदै आएको छ । सुविधा सम्पन भवन निर्माणको कार्य तीव्र गतिमा भएकोमा चौतारा अस्पताल व्यवस्थापन समितिका अध्यक्ष टंक कार्कीले पनि खुशी व्यक्त गरेका छन् । उनले चिनियाँ ठेकेदार कम्पनी र कामदारको समेत खुलेरै तारिफ गरे । कार्की भन्छन्, ‘यो वर्षभित्र स्थानीयले सुविधा सम्पन्न अस्पतालबाट गुणस्तरीय स्वास्थ्य सेवा पाउने छन् ।’

टिप्पणीहरू