१५ मीनेटलाई रोकिएको संसद बैठक एक घण्टादेखि अवरुद्ध
प्रतिनिधि सभाको बैठक झण्डै एक घण्टादेखि अवरुद्ध भएको छ । प्रमुख प्रतिपक्ष नेकपा एमालेसहित विपक्षी राष्ट्रिय स्वतन्त्र पार्टीका सांसदहरुले बैठक अवरुद्ध पारेका हुन् ।
गत जेठ १५ गते प्रस्तुत आगामी आर्थिक वर्षको बजेटमा उल्लेख गरिएको निर्वाचन कार्यालय हटाउने विषयलाई नहटाउने भनिए पनि विनियोजन शीर्षकमा यथावत राखिएको भन्दै ती दलका सांसदहरुले विरोध गरेका छन् ।
अर्थमन्त्री डा. प्रकाशशरण महतको प्रतिबद्धताबमोजिम विनियोजन शीर्षकमा निर्वाचन कार्यालय नहटाउने विषय समावेश गर्न माग गर्दै बैठक अवरुद्ध पारिएको हो । सभामुख देवराज घिमिरेले १५ मिनेटका लागि स्थगित गर्नुभएको बैठक एक घण्टादेखि अवरुद्ध छ ।
एमाले प्रमुख सचेतक पदम गिरीले अर्थमन्त्रीले उक्त प्रतिबद्धता लिखित रुपमा विनियोजन शीर्षकमा समावेश नगरेसम्म संसद् बैठक अघि बढ्न नदिने अडान लिएका छन् । एमाले र राष्ट्रिय स्वतन्त्र पार्टीका सांसदहरुले उठेर अवरोध गरेपछि बैठक रोकिएको हो ।
टिप्पणीहरू