लुम्बिनीको लिगलिगे दौडमा पूर्वमन्त्रीदेखि कलाकारसम्म

लुम्बिनीको लिगलिगे दौडमा पूर्वमन्त्रीदेखि कलाकारसम्म

बुद्ध जन्मस्थल लुम्बिनीको विकासका लागि गठित लुम्बिनी विकास कोषका उपाध्यक्षको कार्यकाल सकिएको छ । उपाध्यक्ष अवधेशकुमार त्रिपाठी (भिक्षु मैत्तय) को छ वर्षे कार्यकाल सकिएपछि उक्त पदमा नियुक्तिका लागि पूर्वमन्त्रीदेखि कलाकारसम्म लागि परेका हुन् । 

त्रिपाठीलाई २०७४ सालमा तत्कालीन पर्यटनमन्त्री जितेन्द्र देवको पालामा नियुक्त गरिएको थियो । त्यसपछि एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकारको पालामा समेत उनको पदावधि थपिएको थियो । जबकी त्यतिबेला अघिल्लो सरकारले गरेका सबै नियुक्ति खारेज गरिएको थियो । अहिले उनै त्रिपाठीले समेत पुनः उपाध्यक्षमा नियुक्तिका लागि तीब्र लबिङ गरेको बताइन्छ । 

त्यसैगरी डा. ल्यारकाल लामा पनि उक्त दौडमा देखिएका छन् । पूर्व अर्थराज्यमन्त्री समेत रहेका लामा संविधान सभा सदस्य पनि हुन् । लामालाई प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड निकट भन्ने गरिएको छ ।

उपाध्यक्षकै लागि चर्चामा आएको अर्को नाम  कौडन्य भन्ते हुन् । कौडन्य भन्तेलाई बुद्ध धर्म र दर्शनको बारेमा विशेष जानकार मानिन्छ । उनी हालसम्म कुनै पनि विवादमा परेको देखिँदैन ।
उता विवादास्पद गायिका आनि छोइङ डोल्माको नाम पनि उपाध्यक्ष बन्न खोज्नेको सूचीमा रहेको बताइन्छ । यसैगरी सुमंगलो भन्ते सोही लाइनमा छन् । उनी विगतमा अवधेशकुमार त्रिपाठीसँगै सामाजिक संस्था मार्फत् बौद्ध धर्मका लागि क्रियाशील थिए । 

यसैगरी भिक्षु सागर धम्मलाई पनि उपाध्यक्षको दाबेदार भन्न थालिएको छ । उनी उपाध्यक्षका लागि तीब्र लबिङ गर्नेमा पर्छन् । यद्यपि उनको धर्मोदय सभासँगको विवाद यथावत छ । 

उपाध्यक्ष पदका लागि डा. पेमा लामाको नाम पनि चर्चामा आएको बताइन्छ । बौद्ध धर्ममा प्रसिद्ध ‘खेनपो’ को उपाधीप्राप्त डा. लामा बौद्ध धर्मका ज्ञाता हुन् । उता आचर्य नर्बु लामा पनि सोही दौडमा भेटिन थालेको अन्य प्रतिस्पर्धीहरुको भनाई छ । लामा पनि दशकौंदेखि बौद्ध धर्म दर्शनको क्षेत्रमा क्रियाशील छन् ।

संघीय सरकारको राज्यमन्त्री सरह सेवा सुविधा हुने उपाध्यक्ष नेपाल सरकारको क्याबिनेटले नियुक्त गर्नुपर्ने कानुनी व्यवस्था छ । उक्त पदमा बौद्ध धर्मालम्बी, भिक्षु, भिक्षुणीको नियुक्तिले अन्तर्राष्ट्रिय जगतमा सकारात्मक सन्देश जाने निश्चित छ । तर कतिपयले सोही पदमा नियुक्ति लिनकै निम्ति भिक्षु पद धारण गरेको देखिन आएको छ । 

वर्तमान उपाध्यक्ष त्रिपाठीले यसअघि बारम्बार आफु पुनः उपाध्यक्ष नबन्ने सार्वजनिक घोषणा गरेका थिए । तर उनी यतिबेला एमालेका स्थानीय नेतासँगको सामिप्यता र कोषकै योजना प्रमुख सरोज भट्टराईको सहयोगमा नियुक्तिका लागि कम्मर कसेर लागेको भन्नेहरु पनि भेटिएका छन् । 

भट्टराईले एमाले, एकीकृत समाजवादीका नेताहरु मार्फत् उनको लबिङ गरेका हुन् । यता पर्यटनमन्त्री सुदन किराती त्रिपाठीलाई उपाध्यक्षमा दोहोर्याउने पक्षमा नरहेको माओवादीहरुको भनाई  छ । 

जाजरकोटे भिक्षु सागर धम्म माओवादी नेता तथा जलस्रोतमन्त्री शक्ति बस्नेत मार्फत् उक्त खेलमा अघि बढेका हुन् । यता ल्यारकाल लामाको प्रधानमन्त्रीसँग सोझो सम्पर्क रहेकोले भिक्षु सागर धम्मको प्रयास र सम्भावनाबारे स्वयम् माओवादीका नेताहरुले मुख खोल्न नसकेका हुन् ।

टिप्पणीहरू