चुनाव खर्च सार्वजनिक नगरेका उम्मेदवारलाई जरिवाना गर्ने निर्णय कार्यान्वयन नगर्न अदालतको आदेश

चुनाव खर्च सार्वजनिक नगरेका उम्मेदवारलाई जरिवाना गर्ने निर्णय कार्यान्वयन नगर्न अदालतको आदेश

निर्वाचन खर्च विवरण सार्वजनिक नगर्ने उम्मेदवारलाई जरिवाना गर्ने निर्वाचन आयोगको निर्णय कार्यान्वयनमा उच्च अदालत पाटनले रोक लगाएको छ । 

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद सोविता गौतमसहितले दायर गरेको रिटमा उच्चका न्यायाधीश ऋषिराम दवाडीको एकल इजलासले अल्पकालीन अन्तरिम आदेशमार्फत आयोगको निर्णयमाथि रोक लगाएको हो । अदालतले १५ दिनभित्र लिखित जवाफ पेश गर्नसमेत निर्वाचन आयोगको नाममा आदेशसमेत दिएको छ । साथै, दुवै पक्षलाई छलफलका लागि साउन २२ गतेको पेशी तारिखसमेत तोकेको छ । 

खर्च विवरण सार्वजनिक गरेका उम्मेदवारलाई पनि १५ हजार जरिवाना गरिएको भन्दै गौतमसहित रास्वपाका चार जना सांसदले निर्वाचन अयोगविरुद्ध अस्ति रिट दर्ता गराएका थिए । निर्वाचन आयोग, प्रदेश निर्वाचन कार्यालय हेटौँडा र जिल्ला निर्वाचन कार्यालय, काठमाडौंलाई विपक्षी बनाएर दर्ता भएको रिटमा कारबाही गर्नुपूर्व स्पष्टिकरण सोध्नुपर्ने र जवाफ चित्तबुझ्दो नभएको अवस्थामा मात्र कारबाही गर्नुपर्नेमा प्राकृतिक न्यायको सिद्धान्तविपरीत सुनुवाइको मौका नदिएको जिकिर गरिएको थियो । 

आयोगको निर्णयलाई गैरकानुनी, स्वेच्छाचारी र अतार्किक भन्दै रिटमा उत्पेषण, प्रतिषेध र परमादेशको आदेशले बदर गरि आयोगलाई संवैधानिक र कानुनबमोजिमको कार्य गर्न र जननिर्वाचित प्रतिनिधिको मानमर्दन नगर्न तथा प्रचारमुखी कार्य नगर्न विशेष न्यायिक टिप्पणीको मागसमेत गरिएको थियो । 

निर्वाचन आयोगले हालै खर्च विवरण सार्वजनिक नगर्ने उम्मेदवार भन्दै संघ तथा प्रदेशका झण्डै साढे दुई हजार उम्मेदवारको नाम सार्वजनिक भएको थियो । तर, कतिपय उम्मेदवारले भने यसअघि नै आफूले खर्च विवरण सार्वजनिक गरिसकेको भन्दै आयोगको निर्णयप्रति त्यतिबेलै असहमति प्रकट गरेका थिए ।

टिप्पणीहरू