सेनापतिबाहेकका सबै सुरक्षा प्रमुख गृह मन्त्रालयमा अकस्मात हाजिर
हिजो दिउँसो एकाएक नेपाल प्रहरीका प्रमुख वसन्त कुँवरलाई गृह मन्त्रालयबाट बोलावट आयो । उपप्रधान तथा गृहमन्त्री नारायणकाजीले बोलाएको खबर पाउनेबित्तिक्कै केही सहयोगीका साथ कुँवर सिंहदरबारतिर हान्निए ।
गृहमन्त्रीले जनजातिहरुको जारी आन्दोलन,उनीहरुमाथि भएको लाठीचार्ज,प्रहरी कार्यालयमा भएको तोडफोड र वकिल शीतल पाण्डेको गिरफ्तारीबारे जानकारी लिन यसरी अकस्मात बोलाइएको बताइन्छ ।
पाण्डेलाई पक्राउ गर्नुपर्ने मागसहित हिजो काठमाडौं जिल्ला प्रहरी परिसर टेकूमा भएको तोडफोडमा केही पक्राउ परेका थिए । पूर्व राज्यमन्त्री परशुराम वाइबा,कलाकार विश्व दोङ,उनकी दिदी मञ्जु थापामगर, कुमार तामाङ,बहिनीहरु नेरुता मोक्तान,कृति गोले, सुशीला तामाङ,भाइहरु विवेक लामा,विकास लामालगायत ४२ पुरुष र १० महिलालाई प्रहरीले नियन्त्रणमा पनि लिएको थियो । त्यसको विरोध भएपछि ४७ जना रिहा भए तर पाँच जनालाई छाडिएन ।
५२ जनालाई नै परिसरभित्र मरणासन्न हुनेगरी कुटेको खबर गृहमन्त्रीको कानमा पुर्याइयो । प्रहरीको कुटाइबाट घाइतेमध्ये तीन जना सिकिस्त भएको बताइन्छ । नेरुता, कृति र सुशीला तामाङको ट्रमा सेन्टरमा उपचार गरिएको छ । ५० जनाभन्दा बढी आन्दोलनको क्रममा घाइते भएको उनीहरुको दाबी छ ।
यता,वकिल पाण्डेले भने बोल्ने क्रममा ढंग नपुर्याएको धेरैको टिप्पणी छ । विशिष्ट खालको नेपाली समाजमा अहिले पनि केही जनजातिमा मामा तथा फुपु चेलाका सन्तानबीच वैवाहिक सम्बन्ध हुने गरेको छ । तर,त्यो सबैमा होइन ।
त्यसमा पनि सोझै दिदीबहिनी र दाजुभाइबीच वैवाहिक सम्बन्ध हुने उनको ठाडो ठहर सतप्रतिशत गलत थियो । आन्दोलनकारीहरुको मागबमोजिम प्रहरीले पाण्डेलाई गिरफ्तार गर्यो । उनले बोल्दा ढंग नपुगेको भनेर माफी पनि मागिन् । अदालतले पनि हिजै उनलाई छाड्यो र मुद्दा चल्न दिएन । यता,त्यहीबेला जिल्ला प्रहरी कार्यालयभित्रै लाठी चार्ज भयो । जनजातिहरु घाइते भए । त्यही विषयमा गृहमन्त्रीले बोलाएर प्रहरी प्रमुखसँग कुराकानी गरेको मन्त्रालय स्रोतको भनाई छ ।
टिप्पणीहरू