हराएका मेजर खोज्न प्रहरीको फौज बढाइयो

नेपाली सेनाका मेजर विमल पण्डितको खोजीका लागि थप प्रहरी बल खटाइएको छ । 

हिजोदेखि बेपत्ता नन्द बक्स गुल्मका गुल्मपति पण्डित आज दिनभर खोज्दा पनि फेला नपरेपछि जिल्ला प्रशासन कार्यालयले बन्दोबस्तीका सामग्रीसहित थप प्रहरी खटाएर खोजीकार्य तीब्र पारेको हो । सिडियो भूमिश्वर पोखरेलले रातभर खोज्नुपर्ने भएकाले गाडीसहित प्रहरीको अर्को टोली पनि खटाईएको जानकारी दिए ।    

हिजो अपराह्न साढे चार बजे इभिइनिङ वाकका लागि ब्यारेकबाट निस्किएका मेजर पण्डितले साँझ पाँच बजे काठमाडौँमा रहेकी श्रीमतीसँग फोनमा कुराकानी गरेका थिए । त्यसपछि उनको मोबाइल स्विचअफ छ । नेपाल प्रहरी,सशस्त्र प्रहरी र सेनाको संयुक्त टोलीले हिजैदेखि खोजी गरे पनि अहिलेसम्म पत्ता लागेको छैन । 

आफ्ना सुरक्षा गार्डलाई समेत 'तँ नआइज,आज म एक्लै जान्छु' भनेर फर्काएका पण्डित त्रिपुरातर्फ गएको सूचनाका आधारमा त्यही क्षेत्रमा खोजबिन भैरहेको छ । त्रिपुरा सेनाको ब्यारेकबाट झण्डै एक घण्टाको दूरीमा पर्दछ ।

यो पनि...

1. ब्यारेकबाट बडीगार्ड नलिई निस्किएका मेजर बेपत्ता

टिप्पणीहरू